काठमाडौँ – भारत र अस्ट्रेलियाबीच जारी ४ खेलको टेस्ट सिरिजको पहिलो इनिङमा भारतीय कप्तान रोहित शर्माले शतक प्रहार गरेका छन्। नागपुरको जामथा स्टेडियममा जारी दोस्रो दिनको खेलमा अस्ट्रेलियाविरुद्ध भारतले अग्रता बनाएको छ।
पहिलो इनिङमा १ सय ७७ रनको स्कोर बनाएको अस्ट्रेलियाविरुद्ध भारतले अग्रता बनाएको छ। भारतले ५ विकेट गुमाएर २ सय २५ रन बनाएर खेलिरहेको छ।
कप्तान रोहित शर्मा र रवीन्द्र जडेजा क्रिजमा रहेका छन्। रोहित अहिले ११८ रन बनाएर क्रिजमा रहँदा उनलाई रवीन्द्र जडेजाले ३४ रनमा साथ दिइरहेका छन्। भारतले पहिलो इनिङमा ५० रनको अग्रता बनाएर खेलिरहेको छ।
भारतीय कप्तान शर्माले ९ औँ टेस्ट शतक प्रहार गरे। उनी कप्तानका रुपमा तीनै फर्म्याटमा शतक प्रहार गर्ने पहिलो भारतीय खेलाडीसमेत बने।
विश्वमा भने रोहितअघि श्रीलंकाका तिलक रत्ने दिलसान र दक्षिण अफ्रिकाका फाफ डुप्लेसीस र पाकिस्तानका बाबर अजामले कप्तानका रुपमा तीनै फर्म्याटमा शतक प्रहार गरेका छन्।