धनगढी- विश्वासको मत पाउन नसकेर पदमुक्त भएका सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले २०७२ सालमा भएको टिकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई छुटाउन नसक्दा आफू नेतृत्वको सरकार ढलेको बताए।
रावलले आज धनगढीमा सञ्चारकर्मीसँग टिकापुर घटनाका झगडियालाई छुटाउन नसक्दा आफ्नो सरकार ढलेको बताएका हुन्। ‘टीकापुर घटनामा संलग्न रहेका चौधरीलाई कारागारबाट छुटाउननसक्दा सरकार ढलेको हो। झगडियालाई हामीले कसरी छुटाउन सक्छौं र? उहाँलाई त अदालतले फैसला गर्ने हो। हामीले छुटाउनलाई हामी अदालत त हाइनौं नी?,’ उनले भने।
२०७२ सालमा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी वरिष्ठ उपरिक्षक लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका दुई तथा एक जना बालकसहित ८ जनाको मृत्यु भएको थियो।
नेपाल समय
घटनाको मुख्य योजनाकारको अभियोग लागेका रेशमलाई अदालतले दोषी ठहर गर्दै आजीवन कारागारको सजाय सुनाएको थियो। उनकै संरक्षणमा खुलेको नागरिक उन्मुक्ति पार्टीले रेशमलगायत कैदीलाई छुटाउँनुपर्ने मुख्य माग राख्दै रावललाई विश्वासको मत दिएको थिएन।