काठमाडौं । आईसीसी महिला ट्वान्टी–२० विश्वकप आज (शुक्रबार)देखि सुरु हुँदै छ । दक्षिण अफ्रिकाको केप टाउनमा हुने विश्वकपको पहिलो खेलमा आज घरेलु टिम र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समयअनुसार राति १०ः४५ बजेदेखि सुरु हुनेछ ।
प्रतियोगितामा कुल १० टिमको सहभागिता छ । जसलाई प्रत्येक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह चरणको खेल फेब्रुअरी २१ सम्म हुनेछ । सेमिफाइनल खेलहरू फेब्रुअरी २३ र २४ मा हुनेछन् । समूहबाट शीर्ष दुई टिमले सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल २६ फेब्रुअरीमा हुनेछ ।
प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, बंगलादेश, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र श्रीलंका छन् । यस्तै, समूह ‘बी’ मा इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान र वेस्ट इन्डिज छन् ।