अस्ट्रेलिया — अस्ट्रेलियाका तामाङ समुदायले चोहो चुनेका छन् । परापूर्वकालमा तामाङ समुदायमा आफ्नो गाऊँको सुरक्षा गर्ने मुखियाको रुपमा लिइने चोहोलाई यहाँका तामाङले आइतबार आयोजित एक कार्यक्रममा सर्वसम्मत रुपमा चुनेका हुन् ।
सयौं मानिसहरूले भरिभराउ दक्षिण अस्ट्रेलियाको थेबारटन सभाहलमा ल्होछार मनाउन आयोजित कार्यक्रममा मेलबर्नका अगुवा बम योञ्जनलाई मेलबर्न राज्यकी बहुसांस्कृतिक तथा पर्यटनमन्त्री जोय ब्याटिसनले मुकुटजस्तो देखिने परम्परागत ‘रिङा’ लगाएर चोहोका रुपमा स्वागत गरिन् ।
चोहोको जिम्मेवारी पाएका योञ्जन समेत आफूलाई ठूलो जिम्मेवारी आएको अनुभव सुनाउँदै उनले समाजको हित र आफ्नो कलासंस्कृतीको जगेर्ना र प्रवर्द्धनमा लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।
नेपालमा करिब लोप भइसकेको यो परम्परालाई अस्ट्रेलियामा पुनर्जीवित पार्न पाएकोमा स्थानीय तामाङ सोसाइटीका संरक्षक दीपक लामाले खुसी व्यक्त गरे ।
कार्यक्रम संयोजक धीरज तामाङले चोहोको चलन राणाकालसम्म समेत सक्रिय रहेको जानकारी दिँदै चोहोको मुख्य काम आफ्नो समुदायमा रहेका समस्या, पीडा, विवादलगायतमा समाधानको पहल गर्ने र अभिभावकको भूमिका निभाउने रहेको बताए ।
चोहो छानिएपछि तामाङ समुदायका सबैसँग आपसी सरसल्लाह गरेर तामाङ परिषद् निर्माण गर्ने बताइएको छ । यसैगरी तामाङ कोष खडा गर्ने, नेपाल तथा अस्ट्रेलियाको शिक्षा क्षेत्रमा काम गर्ने, समस्यामा परेका विद्यार्थीलाई सम्भव भएसम्म सहयोग गर्ने र छात्रवृत्तिको समेत व्यवस्था गरिने भएको छ ।
कार्यक्रममा तामाङ समुदायको परम्परागत भाग्बा नृत्य देखाइएको थियो भने किराँतको च्याब्रुङ, सेलो नाचले सबैको ध्यान खिचेको थियो । कार्यक्रममा लामाले परम्परागत शैलीको पूजापाठसमेत गरेका थिए ।
प्रकाशित : माघ २५, २०७९ ११:४८