अभिनेता राजेश हमालले शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘ह्यारीकी प्यारी’ रोचक लभस्टोरी फिल्म रहेको बताएका छन् ।
श्रीमती मधु भट्टराईसँग विशेष शोमा पुगेर फिल्म हेरेपछि राजेशले भने, ‘मेरो दृष्टिकोणमा यो एउटा अनौठो–रोचक लभस्टोरी फिल्म हो । सुरुवातमा प्लट विकास हुनका लागि केही समय लागेको छ । एकचोटी प्लट विकास भइसकेपछि आफ्नो गतिमा बगेको छ । आफ्नो वास्तविक विषयमा प्रवेश गर्छ ।’
चलचित्रले दर्शकलाई बाँधेर राख्ने उनले बताए । रोचक लभस्टोरी चलचित्र भएपछि यसभित्र भावना, विभिन्न किसिमको नेपाली जीवन दर्शाइएको राजेशले बताए ।
उनले अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले राम्रो अभिनय गरेको बताए ।
भोला रिजालको प्रस्तुति रहेको चलचित्रलाई उनका छोरा डा. कपिल रिजालले लेखन एवं निर्देशन गरेका हुन् । डा. भोला रिजालका सुरुवाती चलचित्रमा अभिनेता राजेशले अभिनय गरेका थिए ।
‘ह्यारीकी प्यारी’ जितुले पहिलोपटक लिड रोल निर्वाह गरेको चलचित्र हो । चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल लगायतको पनि अभिनय छ ।
फरक पृष्ठभूमि र भूगोलमा हुर्किएका दुई पात्रको सम्बन्धको कथा सवा २ घण्टा लामो यस चलचित्रले पेश गर्छ ।