वीरगञ्ज । वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालको आयोजनामा नर्सहरुका लागि एक दिने नवजात शिशुको पूर्नजीवन तालीम सम्पन्न भएको छ । आइतबार नेपाल नर्सिङ्ग दिवसको अवसर पारेर मेडिसिटी बयोधा अस्पतालले वीरगञ्जमा सञ्चालित विभिन्न स्वास्थ्य सङ्घ संस्थामा कार्यक्रत नर्सहरुलाई लक्षित गर्दै आयोजना गरेको एक दिने नवजात शिशुको पूर्नजीवन तालीम सम्पन्न भएको हो ।
अस्पताल परिसरमै आयोज्जित तालिममा नेपाल मेडीसिटी वयोधा अस्पतालसहित वीरगञ्जमा रहेका विभिन्न अस्पताल, स्वास्थ्य संस्था, नर्सिङ्ग कलेजलगायतबाट ४० जना नर्सहरु सहभागी थिए । तालिममा नवजात शिशुहरुको अस्पतालमा गरिने उपचार तथा उनीहरुको सघन उपचारका तरीकालगायतका व्यवहारिक कुरा सिकाइएको थियो । तालिममा प्रशिक्षण नेपाल मेडिसिटी बयोधा अस्पतालको बालरोग विशेषज्ञ डा. आनन्द रौनियार, डेपुटी नर्सिङ्ग सुपरिन्टेन्डेण्ट विद्या गुप्ता, एसिस्टेन्ट नर्सिङ्ग सुपरिन्टेन्डेण्ट रविन्द्र कानुले दिएका थिए ।
अस्पतालका प्रमुख विजय रिमालको अध्यक्षतामा भएको तालिमको उदघाटन सत्रमा नेशनल मेडिकल टिचिङ्ग हस्पिटलकी नर्सिङ्ग निर्देशक गङ्गा गुरुङ्ग प्रमुख अतिथि रहेकी थिइन् ।उदघाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङ्गले नर्सहरु अस्पतालको मेरुदण्ड भएको बताइन । नर्सहरुले आफ्नो ज्ञान र सीपलाई अभिबृद्धि गर्दै अस्पतालमा दीगो सेवालाई प्रत्याभूत गर्न आवश्यक रहेको पनि उनले बताइन ।
त्यसैगरी कार्यक्रमकी विशिष्ट अतिथिको वीरगञ्ज नर्सिङ्ग क्याम्पसकी प्रमुख जमुना भट्टराईले नेपालमा जेष्ठ नागरीकहरुको सङ्ख्या बृद्धि भईरहेकोले नर्सहरु तथा अस्पतालहरुले पनि जेष्ठ नागरिकहरुको उपचारमा अझ बढी ध्यान दिनुपर्ने बताइन । नर्सहरुको सेवा, सुविधा तथा जीवनयापनका लागि पर्याप्त पारिश्रमिकको ब्यवस्था अस्पतालहरुले गरेको खण्डमा नर्सहरुको कार्यकुशलतामा अभिबृद्धि हुने उनको कथन थियो ।
नेपाल मेडिसिटी बयोधा अस्पतालले नर्सहरुको ज्ञान र सीपलाई अभिबृद्धि गर्न नियमित रुपमा तालीमहरुको व्यवस्था गर्दै आइरहेको छ । अस्पतालले आयोजना गर्ने यस्ता अधिकांस तालिममा मेडीसिटी वयोधा अस्पतालसँगै अन्य स्वास्थ्य सङ्घ संस्थाका नर्सहरु पनि सहभागी हुनेगरेका छन् ।
वीरगञ्जमै सुलभ दरमा उच्च गुणस्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापित नेपाल मेडीसिटी वयोधा अस्पतालले पछिल्लो समय थप जनशक्ति र सुविधा पनि थप्दै गएको छ । विरामीहरुलाई कुनैपनि किसिमको स्वास्थ्य उपचारका लागि वीरगञ्ज बाहिर जानुपर्ने बाध्यतालाई अन्त्य गर्न आफूहरु लागीपरेको अस्पतालका प्रमुख विजय रिमालले बताए ।
आफूहरुले वीरगञ्ज र आसपासका सम्पूर्ण क्षेत्रका अस्पताल तथा स्वास्थ्य सङ्घ संस्थासँग सहकार्य गरेर विरामीहरुलाई प्राथमिक, माध्यमिक र विशिष्ट सेवा वीरगञ्जमै उपलब्ध गराउने प्रयास गरिरहेकोले अन्यत्र जाने अवस्था छिट्टै न्यून हुने रिमालले बताए ।