वीरगंज । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई सम्मान तथा विदाई गरेको छ । १६ महिनाको पर्सा जिल्लाको कार्यकाल सकेर गृह मन्त्रालयमा सरुवा भएका प्रमुख जिल्ला अधिकारी ढकाललाई सम्मान तथा विदाई गरिएको केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी ढकालले वीरगञ्जको बसाई समग्रमा स्मरणयोग्य भएको बताए । आफ्नो कार्यकाल सफल बनाउन यहाँका सामाजिक अभियानतादेखि सबै नागरिकको सहयोग पाएको उनको भनाई थियो । कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्ल,
रुंगटा वैलफेयर सोसाइटी वीरगञ्जका अध्यक्ष सुरेश रुंगटा, सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन डकुराई, सर्फुदिन मियाँ, कमल चौगाई, दिलिपराज कार्की, अलाईड युथ सोसाइटीका अध्यक्ष ओम झा, पियुष गुप्ता लगायतको उपस्थिती रहेको थियो ।