वीरगंज । पर्साको पकाहा मैनपुर गाउँपालिकामा सरस्वती पुजाको चन्दा माग्न गएका विद्यार्थीमाथी कुटपिट भएको छ । स्थानिय बुलट बर्णवाल, भुवन चौहान र जंग बहादुरले चन्दा माग्न गएका श्री राम चरित्र भगत मावि पकहा मैनपुरका कक्षा ९ का विद्यार्थी आशिष मेहतालाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट विद्यार्थी मेहताको टाउकोमा गम्भीर चोट लागेको छ ।
उनको टाउकोमा ७ वटा टाका लागेको स्वास्थ्य चौकी पकहा मैनपुरले जनाएको छ ।कुटपिटबाट केही विद्यार्थीहरु समान्य घाईते भएको प्रहरी चौकी धाेरेका प्रहरी सहायक निरीक्षक मनाेज दासले वताए । स्थानियका अनुसार पकहा मैनपुर चौकमा संचालनमा रहेको पसल संचालक र चन्दा माग्न पुगेका श्री राम चरित्र भगत माविका विद्यार्थीहरु बिच विवाद भएको थियो ।
विवादको क्रममा तिनै जनाले विद्यार्थीहरुलाई कुटपिट गरेका हुन् । कुटपिट पछि पकहा मैनपुर चौकमा तनाव भएपछि प्रहरी चौकी खेस्राहा, प्रहरी चौकी धोरे, सशस्त्र प्रहरी बेस क्याम्प पकहा मैनपुर, प्रहरी बेस क्याम्प सुर्जाहा कट्टीका प्रहरीको टोलि पुगेको थियो ।