जनकपुर । माघ महिनाको चिसो बिहान, महोत्तरीको गौशाला नगरपालिका–४ की ७० वर्षीया पानो सदा र उनका पति ७५ वर्षीया जितु सदा आगो (घुर) ताप्दै जाडो छल्दैथिए । दैलोमा बालेको घुरमा आगो निभ्नै लागेको थियो । तर न्यानोको लागि सदा दम्पती घुर घेरेरै बसेका थिए ।तराई मधेशमा केही समययता चिसो असाध्यै बढेको छ । चिसो छल्न १६ जनाको सदा परिवारलाई असाध्यै कठिन छ । सुकुम्बासी सदा दम्पतीलाई न्यानो लुगाफाटोको अभावमा जाडो छल्न राति उखुको ‘पात’ र दिउँसो घुरको ‘ताप’ को सहारा लिनुको विकल्प छैन । ‘ओढ्ने–ओछ्याउने गरम कपडा छैनन् । दिउँसो मजदुरी नगरे भोकै बस्नुपर्छ’ पानोले घुर छेउको खर देखाउँदै भनिन्, ‘हेर्नुस् त राति न्यानोको लागि यो ओछ्याएर सुत्छौं । दिउँसो यसरी तापेर जाडो काट्छौं । अरू केही उपाय छैन ।’दुई महिनाअघिको चुनाव सम्झँदै उनले भोट माग्न आउने नेता कठ्याङ्ग्रिंदो जाडोमा आफ्नो अवस्था बुझ्न नआएको बताइन् । पानोसँगै कुरा गरिरहँदा उनकी छिमेकी सम्तोलिया देवी सदा दौडेर आइन् । घरमै घुर ताप्दै गरेकी उनी काखको बच्चा च्यापेरै दौडिएकी थिइन् । जाडोको कुरा गरेको सुनेपछि पक्कै पनि कोही केही दिनलाई गाउँमा नाम टिप्न आएको होला भनेर उनी दौडिएकी रहिछन् । तर उनको समस्या सुन्ने बाहेक उनलाई दिने हामीसँग त्यस्तो केहि थिएन । सम्तोलिया देवी सदाको ७ जनाको परिवार छ । लुगाफाटो अभावमा कठ्याङ्ग्रिनु परेको उनले सुनाइन् । ‘चार बच्चा छन्, सासू आमा हुनुहुन्छ । श्रीमान् काममा जानुहुन्छ । मजदुरी गरेन भने के खाने ?’ उनले भनिन्, ‘न्यानो लुगा छैन । जेनतेन राति ओछरा (पराल र झारपात ओछ्याएर बनाएको सुत्ने ठाउँ)मा र दिउँसो घुर तापेर जाडो काट्छौं । पानो र सम्तोलियाको परिवारको जस्तै पीडा मलहनिया पोखरी किनार र छेउछाउमा पुस्तौंदेखि बस्दै आएका ५० घर हाराहारी मुसहर समुदायको छ । आर्थिक रूपमा विपन्न उनीहरू सबैको छानो खर, परालको छ ।
जहाँ रातको समयमा शीत झर्छ भने न्यानो लुगाफाटोको अभावमा उनीहरू कठ्याङ्ग्रिएर रात काट्न बाध्य छन् । उनीहरू जस्ता विपन्न बस्तीका लागि स्थानीय सरकारसँग पनि खास कार्यक्रम छैन । गौशाला नगरपालिकाका मेयर डा. दीपेन्द्र महतो जाडोलाई लक्षित गरेर नगरभित्र विभिन्न स्थानमा दाउरा वितरण गरेको बताउँछन् । गरिब, विपन्न तथा अति विपन्न परिवारको यथार्थ विवरण हामीसँग छैन । पहिला संकलन भएको थियो रे, तर त्यसमा विश्वसनीयता छैन । त्यसैले यस पटक न्यानो लुगा बाँडेनौं । दाउरा बाँड्यौं’ मेयर महतोले भने, ‘आगामी वर्ष अति विपन्न परिवारको डाटा संकलन र जाडोको पूर्व तयारी गर्ने योजना छ ।’ मेयर महतोको यो भनाइले देखाउँछ स्थानीय सरकारको प्राथमिकताको सूचीमा साह्रै तल छन् यी विपन्न मुसहर परिवार । महोत्तरीको समसी गाउँपालिका–५ का सुकुम्बासी नारायण मल्लिक डोमको ११ जनाको परिवार छ । एक कट्ठा ऐलानी जग्गामा वर्षौंदेखि ओत लाग्ने खरले छाएको छाप्रो छ । छानाको केही भाग प्लाष्टिक र त्रिपालले टालटुल पारेको देखिन्छ । यसले कम्तीमा शीत त रोक्छ । नारायणको छाप्रोभित्र दुईवटा कोठा छन् । असोरा (बरण्डा जस्तै) मा चुल्हो र खाट राखिएको छ । एकाबिहानै हामी पुग्दा असोरामै रहेको खाना पकाउने चुल्होछेउ काखे बच्चा च्यापेर नारायणका दुई बुहारी आगो ताप्दै थिए । डेढ वर्षीय नाति विशाल मल्लिकको जीउमा माथि स्वीटर थियो तर कम्मर तल नाङ्गै । नारायणका कान्छा छोरा विकेश असोरामै राखेको खाटमा झोक्रिएका थिए । आजको छाक के पकाउने टुङ्गो थिएन, किनकि घरमा अन्न थिएन । त्यसैले नारायण र उनकी श्रीमती जयकुमारी बिहानको छाकको प्रबन्ध गर्न काममा निस्किसकेका थिए । जेठो छोरा अशेश्वरलाई चिकित्सकले क्षयरोग लागेकोले एक्लै सुत्न सल्लाह दिएका छन् । तर दुई छोरा बुहारी र चार नातिनातिना गरी १० जनाको परिवार छ । जब सिङ्गो घर नै एउटा कोठा जत्रो छ भने कसरी अलग कोठामा सुत्नु । तैपनि एउटा कुनामा जेठो छोरा सुत्छन् भने बाँकी सबैजना अर्कोतिर गुटमुटिएर रात काट्ने गरेको बुहारी विभाले बताइन् ।‘सानो छाप्रोमा ओढ्ना–विछ्यौनाको अभावमा हामी एउटै ठाउँमा कोचिएर सुत्छौं । जसोतसो रात कट्छ’, विभाले भनिन् ।जाडोको कारण आफ्नो परिवारलाई समस्या भइरहे पनि कतैबाट कुनै सहयोग नभएको विकेशले गुनासो गरे । ‘चुनावमा नेता आएर यो गर्छौं र ऊ गर्छौं भने । जितेर गएपछि फर्केर हेर्दैनन्’, विकेशले दुःखेसो पोखे ।नारायण मल्लिकको घरछेउमा दुई दर्जन घरपरिवार चमार (महरा) समुदायको छ । उनीहरू पनि विपन्न छन् ।
जाडोमा कठ्यांग्रिएर रात काट्नु परेको स्थानीय राजेश्वर महराको भनाइ छ । तर, कसैले कुनै सहयोग नगरेको उनको गुनासो छ ।यहाँ पनि यो विपन्न बस्तीमाथि न्याय गर्न कोही अघि सरेको छैन । सम्सी गाउँपालिका अध्यक्ष रामनाथ यादवले जाडोबाट स्थानीयबासिन्दालाई बचाउन आगो ताप्न दाउरा वितरण गरेको जानकारी दिए । उनले न्यानो कपडा भने वितरण गर्न नसकेको बताए । उनले किन वितरण गर्न नसकेको हो भन्ने चाहिं खुलाएनन् ।धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१२ भुतही पोखरीको डिलमा छाप्रो बनाएर बसेकी कोशिलादेवी राउतको ११ जनाको परिवार छ । विपन्न भएकोले आफ्नो परिवार लुगाफाटोको अभावमा काम्दै रात बिताउने गरेको उनी सुनाउँछिन् ।कतिसम्म भने स्थानीय संघ–संस्था वा सरकार केही राहत वा लुगाफाटो वितरण गर्न आउँदा पनि आफूहरू वञ्चित हुने गरेको कोशिलाको गुनासो छ । यहाँ पनि सरकारी निकायको उही भनाइ छ–‘दाउरा वितरण ।’जनकपुरधाम उपमहानगरपालिका र जिल्ला वन कार्यालय धनुषाले शीतलहरमा केही दिन चोक–चोकमा घुर बाल्न दाउरा वितरण गरेको बताएका छन् ।पानो सदा, सम्तोलिया सदा, नारायण मल्लिक डोम र कोशिला राउत उदाहरण मात्रै हुन् । उनीहरू जस्ता गरिब, दलित तथा विपन्न परिवारलाई यो जाडोले नराम्ररी पिरोलेको छ । उनीहरू कठ्यांग्रिएर जाडो काट्न बाध्य छन् ।
जाडोले मधेश प्रदेशमा १५ जनाको मृत्यु
मधेशका गरिब परिवार जाडो छल्ने मुख्य साधन आगो हो । न्यानो लुगाको अभावमा कठ्यांग्रिएर र आगो ताप्ने क्रममा जलेर मधेश प्रदेशमा २०७९ मंसिरयता मात्रै १५ जनाको मृत्यु भइसकेको छ ।मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी सुमनकुमार तिमिल्सिनाका अनुसार जाडोले कठ्यांग्रिएर ४ महिला र ५ पुरुषसहित ९ जनाको मृत्यु भएको छ । सबभन्दा बढी सर्लाहीमा ६ जनाको कठ्यांग्रिएर मृत्यु भएको छ । धनुषा, सप्तरी र रौतहटमा १–१ जनाको मृत्यु भएको एसपी तिमिल्सिनाले बताए ।यस्तै जाडो महिनामा आगो ताप्ने क्रममा जलेर ६ जनाको मृत्यु भएको छ । यसरी ज्यान गुमाउनेमा पाँच जना महिला छन् भने एकजना पुरुष । ११ जना महिला भने जलेर घाइते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।तर, तीनवटै तहका सरकारले शीतलहरबाट गरिब तथा विपन्न परिवारलाई जोगाउन वास्ता गरेको देखिंदैन । कसैले केही दाउरा वितरण गरेको त, केहीले न्यानो लुगा बाँड्ने काम गरेको देखाउने गरेका छन् । तर यस्तो सहयोग पनि विपन्न बस्तीसम्म पुग्ने गरेको छैन । मधेश प्रदेश सरकारको गृह तथा संचार मन्त्रालयले आठवटै जिल्लामा जाडोबाट नागरिकलाई जोगाउन ८÷८ लाख रुपैयाँ वितरण गरेको दाबी गरेको छ । तर त्यो रकम कहाँ, कसरी वितरण भयो भन्ने पारदर्शी विवरण उपलब्ध छैन ।जिल्ला प्रशासन कार्यालय, धनुषाले अति विपन्न परिवारका लागि विपद् कोषबाट ब्ल्यांकेट र कम्बल वितरण गर्ने काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । उनका अनुसार जनकनन्दनी गाउँपालिका, विदेह नगरपालिका र सबैला नगरपालिकाका विपन्न परिवारलाई एउटा–एउटा ब्ल्यांकेट र दुई÷दुई वटा म्याट वितरण गरिएको छ । न्यानो लुगा बाँड्ने क्रम जारी रहेको उनले बताए । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले केही संख्यामा न्यानो कपडा वितरण भएको बताए । प्रदेश सरकारले पठाएको रकमबाट कम्बल खरिद प्रक्रिया थालेको र आएपछि वितरण गरिने जानकारी उनले दिए । तर माघ महिनामा नआएको कम्बल कहिले आउँछ र वितरण हुन्छ भन्ने प्रश्नको जवाफ उनीसँग मात्र होइन कुनै पनि सरकारी निकायसँग छैन ।