वीरगंज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले काबुलमा गोली हानी मारिएका अफगानिस्तानका पूर्वसांसद मुर्सल नबिजादाको हत्याको छानबिन गर्न माग गरेका छन् । सोमबार न्युयोर्कमा पत्रकारसँगको नियमित ‘ब्रिफिङ’का क्रममा संयुक्त राष्ट्रसंघ प्रमुखका सहयोगी प्रवक्ता स्टेफनी ट्रेम्बलेले भने,
“म तपाईंलाई भन्न सक्छु कि अफगान संसद्का पूर्वसदस्य मुर्सल नबिजादा र उनको सुरक्षा गार्डको हत्याबाट महासचिव स्तब्ध हुनुहुन्छ ।”गएको आइतबार काबुलस्थित घरमा अज्ञात बन्दुकधारीले पूर्वसांसद नबिजादाको हत्या गरेको थियो । नबिजादा र उनको गार्डलाई गोली हानी मारिएको थियो । उनको भाइ आक्रमणमा घाइते भएको प्रहरीलाई उद्धृत गर्दै दी हिन्दुले जनाएको छ ।
नबिजादा सन् २०१८ मा संसद्को तल्लो सदनको सदस्यका रूपमा निर्वाचित भएकी थिइन् । २०२१ मा तालिबानले सत्ता हातमा नलिँदासम्म उनी सांसद नै थिइन् । तालिबानले सत्ता हातमा लिएपछि धेरै राजनीतिज्ञ देशबाट भागेका थिए । तर, नबिजादा अफगानिस्तानमा नै बसेकी थिइन् ।