जनकपुरधाम । मधेस प्रदेशसभाको आज बस्ने बैठकमा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची रहेको छ ।नवनिर्वाचित प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने र सभामुखका लागि उमेदवारी दिएका प्रस्तावित नामहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
गएको बुधबार मुख्यमन्त्री नियुक्त भएका यादवले शुक्रबार (पुस २९ गते) पद तथा गोपनीयताको शपथ लिएका थिए । सभामुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का रामचन्द्र मण्डल र नेपाली कांग्रेसका तर्फबाट जंगीलाल राय प्रतिस्पर्धामा छन् ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा रहेका १० राजनीतिक दलमध्ये मुख्यमन्त्री यादवलाई एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल संघीय समाजवादी पार्टी (एक/एक)सहित दुई स्वतन्त्र गरी ६३ जनाको समर्थन छ । यादवलाई नौ प्रदेशसभा सदस्य रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि समर्थन गर्ने तयारी गरेकाले त्यो संख्या बढेर ७२ पुग्ने जसपाको दाबी छ ।