वीरगञ्ज । घर वा पसलबाट निस्केको फोहोर तोकिएको समय भन्दा अगाडी वा पछाडी सडकमा फ्याँक्न लाग्नु भएको छ ? यदी फ्याँक्नु भएको छ भने ख्याल गर्नुहोला, एक हजार जरिबानामा परिएला । सरसफाईको जिम्मा पाएको कम्पनीले बिहान सडक सफा गरेर जम्मा गरेको फोहोर उठाएर लगेको केही समयपछि वीरगञ्जका पसललेहरुले सडकमा फोहोर फ्याक्दै आएका थिए । त्यसले वीरगञ्ज दुर्गन्ध भएको भन्दै सडकमा फोहोर राख्नेलाई वीरगञ्ज महानगरपालिकाले जरिबाना गर्न थालेको छ ।
वीरगञ्ज महानगरपालिकाले तोकिएको समय भन्दा पछाडी सडकमा फोहोर फ्याक्नेलाई कार्वाही गर्न शुरु गरेपछि बजारमा सरसफाई राम्रो देखिएको छ । वीरगञ्ज महानगरपालिकाले सडकपेटी जथाभावी फोहोर फाल्ने एक जनालाई आज पनि कारवाही गरेको हो । महानगरले आज लिङरोडमा फोहोर फालेका कारण पप्पु जाटियालाई १ हजार रुपैँया जरिबाना तिराएको हो । महानगरले अनावश्यक रुपमा जथाभावी फोहोर फाल्नेलाई केहिदिनदेखि कारवाही गर्ने अभियान नै चलाएको छ ।
पटकपटक सम्झाँउदा समेत नमानेपछि कारवाही स्वरुप जरिबाना नै तिराउन थालिएको वीरगञ्ज महानगरपालिका सरसफाई तथा वृक्षरोपण शाखा अधिकृत सर्फुर्द्धिन मियाँले जानकारी दिए ।उता महानगरलाई सफा बनाउने अभियानमा एकजना मात्रले केहि गर्न नसक्ने हुनाले सबै मिलेर हातेमालो गर्दै महानगरलाई स्वच्छ हराभरा बनाउन लाग्नुपर्ने सरसफाई तथा वृक्षरोपण सयोंजक प्रकाश खेतानको भनाई छ ।