वीरगंज । आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको शव पोस्टमार्टमपछि मात्रै काठमाडौं पठाइने भएको छ। पोस्टमार्टमका लागि काठमाडौंबाट फरेन्सीक विज्ञ पोखरा आउँदैछन्। आजै दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ।विमान दुर्घटनाको कारण पत्ता लगाउन बल्याक बक्सले थप सहयोग गर्नेछ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.भरत खत्रीले पोस्टमार्टमका लागि काठमाडौंबाट फरेन्सी एक्सपर्टको टोली झिकाइएको र पहिचान खुलेपछि मात्रै शव काठमाडौं पठाइने जानकारी दिए। उनले भने,’शव पहिचानका लागि काठमाडौंबाट फरेन्सीक विज्ञ आउँदै हुनुहुन्छ। उहाँहरुले पहिचान गरे लगत्तै शव आफन्तको जिम्मा लगाउँछौं।’उनका अनुसार काठमाडौंमा आफन्त भएकाको शव उतै पठाउने तयारी छ।
दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान भएका शवहरु आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई जिम्मा लगाइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। विमानमा सवार ७२ जनामध्ये ६८ जनाको शव फेला परेको छ। तीमध्ये २८ शवको पहिचान खुलेको छ। ४ जनाको अवस्था अझैं अज्ञात छ। आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थल अवतरण नहुँदै सेती खोँचमा दुर्घटना भएको थियो।