वीरगञ्ज । पर्सामा सञ्चालित ४ वटा क्रसर उद्योग बन्द गरिएको छ । वीरगञ्ज–२९ मुसैली स्थित यादव क्रसर उद्योग प्रालि, वीरगञ्ज–२९ बसडिल्वास्थित सत्यम शिवम बालुवा प्रशोधन उद्योग, जय नेपाल बालुवा उद्योग, पर्सागढी–४ परशुरामपुरमा रहेको गंगा बालुवा उद्योग बन्द गरिएको हो ।
पप्पु कन्स्ट्रक्सनले सखुवाप्रसौनी–१ मा सञ्चालन गरेको स्टक स्टोरमा पनि कारोबार नगर्न भनिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पर्साका प्रहरी उपरीक्षक कोमल शाहले पर्सामा सञ्चालनमा रहेका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द गरिसकिएको जानकारी दिए । ‘पर्सामा चार वटा क्रसर तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा थियो, जिल्ला प्रशासन कार्यालयको आदेश बमोजिम तत्कालै बन्द गराएका छौं’ उनले भने ।
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिमल्सिनाले गैरकानुनी र मापदण्ड विपरीत सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द गरिएको जानकारी दिए । ‘पर्सामा ९ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योग रहेछ । जिल्ला समन्वय समितिमा त एउटा पनि दर्ता रहेनछ,’ उनले भने, ‘प्रहरीलाई भनेर गैरकानुनी ढंगले सञ्चालनमा रहेका क्रसरजन्य उद्योग बन्द गराएका छौं ।’