नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा रहेको कानपुरमा २४ घन्टाको अवधिमा हृदयघातबाट १४ जनाको मृत्यु भएको छ। अत्यधिक चिसो बढेसँगै हृदयघातबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ। पछिल्लो ३/४ दिनमा हृदयघात र मस्तिष्कघातबाट ९८ जनाको मृत्यु भएको एलपीएस हृदय रोग प्रतिष्ठानले जनाएको छ।
एलपीएस हृदय रोग प्रतिष्ठानका अनुसार शनिबार अत्यधिक चिसोका कारण १४ जनाको हृदयघातबाट मृत्यु भएको हो। जसमध्ये प्रतिष्ठानमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको हो भने ८ जना मृत्यु भइसकेको अवस्थामा अस्पताल पुर्याइएको थियो। शनिबार हृदयघातबाट पीडित ५४ जनालाई कार्डियोलोजी इमरजेन्सी वार्डमा भर्ना गरिएको थियो।
यहाँ ६०४ जना मुटु रोगीको उपचार भइरहेको छ। जसमा ५४ जना नयाँ र २७ पुराना बिरामी हुन्। चिसोमा एक्कासी ब्लड प्रेसर बढ्ने र नसामा रगत जम्मा भएर हृदयघात र ब्रेन अट्याक हुने चिकित्सकले बताएका छन्। शीत लहरमा बिरामीलाई चिसोबाट बचाउन चिकित्सकले आग्रह गरेका छन्।