वीरगंज । अत्यधिक चिसो बढेसँगै वीरगञ्ज महानगरपालिकाले विद्यालय विदाको अवधी लम्ब्याएको छ । यसअघि महानगरपालिकाले १९ गते एक सूचना जारी गर्दै पुष २२ गतेसम्म विद्यालय बन्द हुने जानकारी दिएपनि चिसो झनझन बढ्दै गएपछि महानगरले विदाको अवधी थप गरेको हो ।
शनिवार महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले एक सूचना सार्वजनिक गर्दै विदाको अवधी पुष २६ गतेसम्म थपिएको जानकारी गराएको छ । योसँगै अब यहाँका सामुदायिक एवम् संस्थागत विद्यालयहरु पुष २६ गतेसम्म बन्द हुने महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख अर्विन्दलाल कर्णले जानकारी दिए ।
केही दिन यता चिसो तथा शितलहर लगातार बढीरहेको छ । चिसो मौसमका कारण बालबालिकाहरुलाई पठनपाठनमा कठीनाई हुनुका साथै विद्यालय आवतजावतमा पनि असहज हुने अवस्थालाई मध्यनजर गर्दै विदाको अवधी थपिएको महानगर प्रमुख राजेशमान सिंहले बताए ।