वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ खलुचडीमा एक दलित महिलालाई बाेक्सीकाे आराेपमा कुटपिट गरि घाइते बनाएकाे घटना प्रकाशमा आएकाे छ । खलुचडीकी दलित महिला ६० वर्षीया सुदामा देवी चमईनलाई गाउँकै चार जनाले बाेक्सीकाे आराेप लगाएर आइतबार निर्घात कुटपिट गरि घाइते बनाएकाे सुदामा देवीका छाेरा प्रभु रामले बताए । कुटिपिटबाट गर्दन, टाउकाे र शरिरका विभिन्न भागमा चाेट लागेर घाइते भएकि सुदामा देवीको वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचार भईरहेको छ । छाेरा प्रभुका अनुसार , आईतबार साँझ घरमै घुर तापेर बसिरहेका बेला सुदामा देवीलाई स्थानीय नबी आलम राउत गदी, रैफुल मास्टर राउत गदी, बासुदेव महरा चमार र सुरेश महरा चमारले बोक्सीको आरोप लगाउँदै कुटपिट गरेका थिए ।
उनिहरुले सुदामा देवीलाई मानव मलमुत्र खुवाउने प्रयास पनि गरेकाे तर स्थानियले राेकेकाे छाेरा प्रभुले बताए । प्रभुले भने, आइतबार म नयाँ साल मनाउन पिकिनक गएकाे थिए, त्यहि माैका छाेपेर छिमेककै चार जनाले मिलेर आमालाई बाेक्सीकाे आराेप लगाउदै बाँसकाे भाटाले हानेर निर्घात कुटपिट गरेछन् , घर आई पुग्दा आमालाई सिकिस्त देखेपछि प्रहरीलाई खबर गरे , प्रहरीकै सहयाेगमा एम्बुलेन्समा राखेर वीरगन्जमा ल्याएर भर्ती गराए । यसअघि पनि गाऊघरमा काेहि बिरामी पर्दा आमाले गर्दा नै बिरामी परेकाे भनेर आक्षेप लगाउने गरिएकाे प्रभुकाे भनाइ छ । आइतबार भएकाे घटनामा संलग्नहरु विरुद्ध गाँउकै प्रहरी चाैकीमा उजुरी समेत दर्ता गराएको उनले बताए ।
पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले भने सुदामा देवीको छिमेककै ४० वर्षीया महिला विन्दा देवीसँग भाँडाकुडाको विषयलाई लिएर झगडा भएर आपसमा कुटपिट भएकाे जानकारी आफुले पाएकाे बताए ।झगडामा सुदामा देवी र विन्दा देवी दुवै जना सामान्य घाइते भएको उनको भनाई छ । गिरीले भने , बोक्सी आरोप लगाएको भन्ने विषयमा प्रहरीलाई जानकारी छैन, त्यस्ताे व्यवहाेराकाे उजुरि पनि परेकाे छैन ,मातहतको प्रहरी कार्यालयले भाँडा वर्तनको विषयलाई लिएर दुई जना महिलाबीच झगडा भएको भनेर सूचना दिएको छ ।