रौतहट । कुमार चन्दन । तराई मधेशमा शीतलहरले गर्दा जनजीवन प्रभाभित भएपछि रौतहटका विद्यालयहरुमा विदा दिन थालिएको छ । सोमवार रौतहटको गढीमाई, माधव नारायण, राजपुर, परोहा नगरपालिका, फतुवा विजयपुर तथा यमुनामाई गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । अत्यधिक जाडो बढेपछि बालबालिकालाई अप्ठ्यारो पर्ने स्थिति सिर्जना भएको छ । सर्वसाधारणलाई घरबाट निस्कन पनि अप्ठ्यारो हुन थालेपछि सोमवार विद्यालयहरुमा विद्यार्थीको उपस्थिति अत्यन्त कम भएको थियो ।
विद्यालयमा विद्यार्थीको उपस्थिति कम भएको तथा जाडोबाट जोगिने कुनै उपाय विद्यालयमा नहुँदा विभिन्न पालिकाले विद्यालयको पठनपाठन रोक्न थालेका हुन् । गढीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्रकुमार यादवले अत्यधिक जाडो बढेपछि मंगलवारदेखि शुक्रवारसम्म चार दिनका लागि सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको जानकारी दिएका छन् । यसै गरी माधव नारायण नगरपालिकाको निर्देशनमा मंगलवारदेखि चार दिनको लागि विद्यालयको पठनपाठन बन्द गरिएको देवी माध्यमिक विद्यालय सखुअवाका प्रधानाध्यापक लखेन्द्र प्रसाद यादवले जनाएका छन् ।
अत्यधिक जाडो बढेपछि विद्यालयहरुमा जाडो विदा दिन थालिएको छ । दिन र रात एकै किसिमले अत्यधिक जाडो बढ्दा धेरै क्षेत्र प्रभावित भएको छ । मंगलवारको शीतलहर हेर्दा केही दिन अझै जाडो यथावत रहने अनुमान गरिएको छ ।