वीरगंज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । नेपाल आयल निगमले आइतवार साँझ प्रेस विज्ञप्ति जारी गर्दै मूल्य यथावत् राखेको जनाएको हो । स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ । अहिले इन्डियन आयल कर्पोरेसनबाट मट्टितेलबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भए पनि नेपालमा भने नबढाइएको निगमले जनाएको छ ।‘हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः घटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सञ्चालन राख्न र इन्डियन आयल कर्पोरेसन लिमिटेडको बक्यौता एवं नेपाल सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौतीपूर्ण अवस्था रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ,’ निगमले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट आइतवार प्राप्त मूल्यसूची बमोजिम पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५४ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसा बढेर आएको छ । मट्टितेलको मूल्य भने केही घटेर आएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नेपाल आयल निगम नोक्सानीमा सञ्चालन हुँदै आएको छ । अहिले आयल निगमलाई हाल खाना पकाउने ग्यासमा ३५९ रुपैयाँ ५० पैसा घाटा रहेको छ ।
ग्यासमा मात्रै १५ दिनमा ४६ करोड ४४ लाख बराबर घाटा हुने निगमको अनुमान छ तर पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको बिक्रीबाट हुने नाफालाई गणना गर्दा समग्रमा निगमलाई १५ दिनमा अनुमानित ९९ करोड रुपैयाँ बराबर नाफा हुने जनाएको छ । निगमले इन्डियन आयल कर्पोरेसन र सरकारलाई तिर्नुपर्ने ऋण समेत गरी १८ अर्ब भुक्तानी गर्न बाँकी छ । यसअघि निगमले पुस १ गतेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । हाल पेट्रोलको मूल्य प्रतिलिटर १७८, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १७५ रहेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १९० र बाह्यतर्फ १ दशमलव ६४ अमेरिकी डलर छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८०० रहेको छ ।