वीरगंज । अनावश्यक एप फोनमा राख्नुभन्दा हटाउनु नै उपयुक्त हुन्छ । कतिपय अवस्थामा हामीले कुनै पनि ट्रेन्डलाई पछ्याएर नयाँ एप डाउनलोड गरिरहेका हुन्छौँ । कहिलेकाहिँ एप कस्तो होला भन्ने जान्न पनि इन्स्टल गरेका हुन्छौँ । त्यस्ता एप केही समय प्रयोग गरेपनि पछि डिभाइसमा काम नहुँदा वा एप अनावश्यक भएको महसुस गर्दै अनइन्स्टल गरिरहेका हुन्छौँ । फोनबाट त्यस्ता एप सजिलै अनइन्स्टल गर्न सकिन्छ । तर एप डिलिट गर्नुअघि केही कुरा विचार गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा हामीले एप अनइन्स्टल गरिसकेपछि अब त्यसमा हाम्रो कुनै काम छैन भन्ने सोचेर निर्धक्क बसेका हुन्छौँ । तर फोनको ब्याकग्राउन्डमा त्यसको अवशेष लुकेर बसेको हुन्छ, जसले गर्दा त्यसले डिभाइसमा समस्या निम्त्याउनुका साथै विभिन्न सुरक्षा जोखिम छोडेर गएको हुन्छ । आज हामी फोनको डेटा तथा विवरण सुरक्षित राख्न एप अनइन्स्टल गर्नुअघि के-के कुरामा ध्यान दिने भन्ने विषयमा जानकारी दिँदै छौँ । हामीले हाम्रो काम सहज बनाउनका लागि फोनमा विभिन्न एप डाउनलोड गरिरहेका हुन्छौँ । यी एपले हामीलाई सुविधा दिएपनि सँगसँगै डेटा चोरी हुने जोखिम पनि बढाएका हुन्छन् । हामीले कतै देखेको भरमा एप परीक्षण गर्न वा कसैले भनेको भरमा एप डाउनलोड गरेका हुन्छौँ । ती एप कति भरपर्दो छन् भन्ने कुरा पहिचान नगरी सोझै अनइन्स्टल गर्दा त्यसले डेटा चोरी हुने वा फोनमा समस्या आउने जोखिम बढाउँछ । कुनै पनि एप हटाउने बित्तिकै त्यसमा भण्डारण भएका तपाईँका डेटा स्वतः हट्छन् भन्ने हुँदैन । त्यसैले एप डिलिट गर्नुअघि यस्ता विविध कुरा सोच्नुपर्ने हुन्छ ।
एप हटाउनुअघि यी ४ कुरामा ध्यान दिनुहोस्
सबैभन्दा पहिले एपमा भएका डेटा डिलिट गर्नुहोस्
हरेक एपमा भएका डेटा डिलिट गर्ने भिन्नाभिन्नै विधि हुन्छन् । तपाईंले कुनै पनि एपको डेटा डिलिट गर्नुपर्ने भयो भने एपको ‘प्राइभेसी’मा गएर, ‘अकाउन्ट सेटिङ’ वा ‘सेक्युरिटी’मा गएर डेटा डिलिट गर्न सक्नुहुन्छ ।त्यस्ता डेटा एपको हिस्ट्रीमा गएर बस्ने भएकाले त्यहाँबाट पनि हटाउन सकिन्छ ।
डिलिट गर्नुपर्ने सो एपको ब्राउजरमा लगइन गर्नुहोस् :
कतिपय साइटको एपमा भएका डेटा त्यसरी हिस्ट्रीमा त्यहाँबाट हटाउँदा पनि नहट्न सक्छन् । त्यसका लागि तपाईंले त्यसको वेब भर्जनबाट लगइन गरी आफ्ना डेटा हटाउन सक्नुहुन्छ । एपभन्दा वेब भेर्सनमा केही फिचर बढी हुने भएकाले साइटमा भण्डारण भएका डेटा त्यसरी पनि हटाउन सकिन्छ ।
फेसबुक वा गुगल अकाउन्ट लिङ्क भएका छन् भने अनलिङ्क गर्नुहोस् :
कतिपय एपमा हामीले फेसबुक वा गुगल अकाउन्ट प्रयोग गरी लगइन गरेका हुन्छौँ । केही समय परीक्षणका लागि लगइन गरेका त्यस्ता एप सोझै अनइन्स्टल गर्दा त्यस्ता साइटले हाम्रो फेसबुक वा गुगल अकाउन्ट प्रयोग गरिरहेका हुन सक्छन् । त्यसैले यदि कुनै एपमा फेसबुक, गुगल, ट्वीटर वा अन्य कुनै अकाउन्ट प्रयोग गरी लगइन गरिएको छ भने त्यस्ता साइटबाट अकाउन्ट अनलिङ्क गर्नुपर्ने हुन्छ । यसका लागि सो एपको सेटिङमा गई ‘लिङ्क्ड अकाउन्ट’ भन्ने सेक्सनमा गएपछि लिङ्क भएका अकाउन्ट हटाउन सकिन्छ । यदि तपाईंले केही गरी आफ्नो डेटा डिलिट गर्न सक्नुभएन भने सो एपको ‘कस्टमर सर्भिस’लाई सम्पर्क गरी आफ्नो डेटा हटाउन अनुरोध गर्न सकिन्छ । यसरी आफ्ना डेटा पूर्ण रूपमा हटाइसकेपछि निर्धक्क एप अनइन्स्टल गर्न सक्नुहुन्छ ।