वीरगंज । कतारमा सम्पन्न विश्वकप फुटवल–२०२२ मा सट्टेबाजी गराएको आरोपमा प्रहरीले थप एक जनालाई काठमाडौंको मरूटोलबाट पक्राउ गरेको छ । पुस ४ मा महानगरपालिका–११ मरूटोलबाट ४३ वर्षीय प्रविन श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण प्रसाद कोइरालाले रातोपाटीलाई बताए ।
रसियन एप ‘वान–एक्स बेट’ मार्फत काठमाडौं–२० भीमसेनस्थान घर भएका ४३ वर्षीय प्रविन श्रेष्ठले फुटबलमा सट्टेबाजी गराएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सट्टेबाजी गराउन श्रेष्ठले ह्वाट्स एप मार्फत कुराकानी गरेको भेटिएको छ ।
श्रेष्ठले १ करोड ४ लाख भन्दा बढी कारोबार गरेको भेटिएको प्रहरी उपरिक्षक कोइरालाले जानकारी दिए । विश्वकप फुटबल खेल अवधिभरमा यसअघि काठमाडौं उपत्यकाबाट प्रहरीले ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । आरोपीहरु विरुद्ध मुलुकी अपराधसंहिताको दफा–१२५ को उपदफा–४ अनुसार सट्टेबाजी गर्न नपाउने कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।