वीरगंज । कतारमा जारी विश्वकप २०२२ अन्तर्गत आइतबार क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनायो । त्यसअघिको खेलमा १-० ले पछि परेको क्रोएसियाका लागि इभान पेरिसिचले बराबरी गोल पर्काएका थिए । जापानले पहिले गोल गर्दै अग्रता लिएको खेलमा पेरिसिचको गोलबाट नै क्रोएसिया खेलमा फर्किएको थियो । पेनाल्टी सुटआउट अघि नै रिप्लेस भएपछि पेरिसिचले पेनाल्टी भने हान्न पाएनन् ।
साविक उपविजेता क्रोएसियाको जितमा उनको योगदान भने रह्यो । इंग्लिस क्लब टोटनहमबाट व्यवसायिक फुटबल खेल्ने पेरिसिचले कुनै समय क्रोएसियाको भलिबल टिमबाटसमेत खेलेका थिए । उनले बिच भलिबलमा क्रोएसियाको प्रतिनिधित्व गरेका थिए ।३३ वर्षीय विंगर पेरिसिकले सन् २०१७ मा एफआईभिबी बिच बलिल वर्ल्ड टुर परेज मेजरमा सहभागिता जनाएका थिए । उनले निक्सा डेल’ओकोससँग जोडी बनाएर खेलेका थिए । तर पेरिसिचको जोडीले सबै तीन खेल हारेको थियो ।
अमेरिकन कासी पाटरसन र थियो ब्रनर तथा अमेरिकाकै ज्याकोब गिब र टेलर क्राब तथा ब्राजिलका अल्भारो फिल्हो र सेमोन बार्बवसाको जोडीसँग पेरिसिचको जोडी पराजित भएको थियो । पेरिसिचले खेलको म्याच फि बीच भलिबल खेलको विकासका लागि क्रोएसियन भलिबल फेडेरेसनलाई सहयोग गरेका थिए । बीच भलिबल खेलेको अर्को वर्ष २०१८ मा रुसमा भएको विश्वकपमा क्रोएसिया उपविजेता बन्दा उनी पनि टिमको सदस्य थिए । सन् २०११ मा क्रोएसियाको फुटबल टिमबाट डेब्यू गरेका पेरिसिकले १२० खेलमा ३३ गोल गरेका छन् ।