वीरगंज । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ को चीनमा उपचार सुरु भएको छ। पुनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालको क्वारेन्टिनमा उपचार सुरु भएको हो । चौथौ लहरको कोरोना महामारीका कारण चीनमा कडा लकडाउन छ । पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जण्डिसबाट पीडित छन् ।
पुन पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीले उपचार सुरु भएको र स्वास्थ्यमा सामान्य सुधार आएको बताइन् । नेपालबाट जाँदा जण्डिसको मात्रा (बिलरुबिन) २७ रहेकोमा अहिले घटेर २४ मा आएको जानकारी घर्तीले दिइन् ।
चुनावी धपेडीका कारण रोग बल्झिएपछि उनी नेपाली चिकित्सकहरुको परामर्शमा शुक्रबार फलोअप उपचारका लागि दुवई, ग्वान्झाओ हुँदै सेन्जेन प्रस्थान गरेका थिए । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’भनिन्छ ।