वीरगंज । भारतको गुजरातमा विधानसभाको चुनाव भइरहेको छ । दुई चरणमा भएको विधानसभाको दोस्रो र अन्तिम चरणको मतदान आज हुँदैछ । बिहीबार पहिलो चरणको मतदान भएको थियो र, ६० प्रतिशत भन्दा बढी मतदान रेकर्ड गरिएको थियो । यसपटक राज्यका १८२ निर्वाचन क्षेत्रमा कुल १ हजार ६२१ उमेदवारहरू प्रतिस्पर्धा गर्दैछन् । गुजरात चुनावको दोस्रो चरणमा बाँकी ९३ सिटमा कुल ८३३ उमेदवारले प्रतिस्पर्धा गर्नेछन् । जसमा ६९ महिला र २८५ स्वतन्त्र उमेदवार छन् । सन् १९९५ देखि भारतीय जनता पार्टी (भाजपा) को शासनमा रहेको गुजरातमा प्रतिपक्षमा रहेको भारतीय कांग्रेस र पश्चिम राज्यमा प्रवेश गर्नको लागि व्यापक अभियान चलाएको अरविन्द केजरीवालको आम आदमी पार्टी (आप) विरुद्ध त्रिकोणात्मक लडाइँ हुने बताइएको छ । डिसेम्बर ५ मा सबैभन्दा कडा लडाइँको सामना गर्ने अपेक्षा गरिएका निर्वाचन क्षेत्रहरूमा प्रधानमन्त्री नरेन्द्र मोदीको पूर्व गृह क्षेत्र र भाजपा गढ मणिनगर, घाटलोडिया र राज्यको राजधानी गान्धीनगर समावेश छ । यस्तै, अन्य सिटहरूमा विरमगाम समावेश छ, जहाँ भाजपाले एकपटक कांग्रेसबाट प्रेरित हार्दिक पटेललाई उमेदवार बनाएको थियो । चुनावको लागि महत्वपूर्ण क्षेत्र मानिएको गोधरामा अल इन्डिया मजलिस–ए–इत्तेहादुल मुस्लिमीन (एआईएमआईएम) ले उल्लेखनीय वृद्धि देखाएको छ । तर, दानिलिम्डा जहाँ आरक्षित अनुसूचित जातिको सिट छ, त्यहाँ कांग्रेसले अहिलेसम्म सहज अन्तरले जितेको छ । दुवै चरणको मतगणना डिसेम्बर ८ मा हुनेछ ।
त्रिपक्षीय टक्कर
तर, रोचक कुरा के हो भने यस निर्वाचनमा भाजपा र कांग्रेस मात्र होइन आप पनि प्रमुख दाबेदार बनेर आएको छ । सन् २०१२ को नोभेम्बरमा मात्र स्थापना भएको आपले दिल्ली र पञ्जाबमा सत्ता सञ्चालन गरिरहेको छ । अब आपको आँखा प्रधानमन्त्री मोदीको गृहनगर गुजरातमा परेको छ । चुनावको मिति घोषणा हुँदा कसैले सोचेको पनि थिएन आप प्रतिस्पर्धामा आउला भनेर । किनकि २०१७ मा भएको चुनावमा आपले २९ सिटमा उमेदवार उठाएको थियो । ती सबै पराजित भएर कुल मतको ०.१ प्रतिशत मात्र ल्याएर आफ्नो जमानत गुमाउनु परेको थियो । तर, अहिले परिस्थिति बदलिएको छ । आप १८१ सिटमा लड्दैछ । गएको चुनावको हारले यसपालि आपले आक्रामक शैलीमा गुजरातमा चुनाव प्रचार गरेको थियो । सामाजिक सञ्जालहरू टिकटक, फेसबुक, युट्युबको व्यापक प्रयोग गरेको देखिन्छ । केजरीवाल आफैँ टेलिभिजन डिबेट कार्यक्रममा बोलेका कुराहरू टिकटकमा भाइरल भएका छन् । केम छो गुजरात ? भन्दै उनी त्यहाँका शिक्षा, स्वास्थ्य र निःशुल्क बिजुली उपलब्ध गराउने जस्ता सर्वसाधारणका दैनिकीका विषय उठाइरहेका छन् । ती कुराहरू दिल्ली र पञ्जाबमा सञ्चालनमा आएको र गुजरातमा पनि गर्न सकिने केजरीवालले आफ्ना भाषणहरूमा भन्दै आएका छन् । भारतमा मोदी सत्ताको पक्षमा वकालत गर्ने टेलिभिजनहरू गोदी मिडियाको नामले चर्चित छ । यस्ता टेलिभिजन कार्यक्रमहरूमा केजरीवाल एंकरहरूलाई भाजपाको मुद्दा होइन, जनताको मुद्दा उठाउनु पत्रकारिता हो भनिरहेका भेटिन्छन् । भन्छन्, “बीजेपी नरहन सक्छ, आप नरहन सक्छ । तर, जनता सधैँ यहीँ रहनेछन् । उनीहरूलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारी चाहिएको छ । त्यो आपले दिनेछ ।”२७ वर्षदेखि गुजरातमा शासन गरिरहेको भाजपाले सुरुमा कांग्रेसप्रति टिकाटिप्पणी गरेपनि अहिले आपप्रति निसाना साँधेको देखिन्छ । यसको अर्थ भाजपाले पनि आफ्नो प्रतिस्पर्धी परम्परागत दल कांग्रेस नभइ आपलाई मानिरहेको स्पष्ट संकेत हो । सन् १९९० पछि बल्ल तीन पक्षीय कडा टक्कर हुन लागेको हो । भाजपाकी केन्द्रीय मन्त्री स्मृति इरानीले भाषण गर्दै ‘सपनाको सौदागर आउँछ र विभिन्न बहाना बनाएर तिम्रो भोट लुट्न सक्छ । यस्तोमा नफस्नु’ भन्दै आपमाथि अप्र्रत्यक्ष रूपमा निसाना साँधेकी थिइन् । पञ्जाबमा आप भारी मतले विजयी भएपछि अहिले आक्रामक रूपमा गुजरातमा चुनावी प्रचारप्रसार गरिरहेको छ । कांग्रेसले पुनः उदाउँदै विस्तारै भाजपासँग सिट र मतमा अन्तर कम गर्ने कोसिस गरिरहेको छ । सन् २०१७ को चुनावमा भाजपाले गुजरातमा ९९ सिट मात्र ल्याएको थियो । सन् १९९० पछिको त्यो सबैभन्दा खराब प्रदर्शन रहेको थियो । कांग्रेसले ७७ सिट जितेको थियो, सन् १९८५ पछिको राम्रो अवस्था मानिन्थ्यो । त्यसबेला कांग्रेसले कीर्तिमानी १८२ सिटमा १४९ सिट जितेको थियो । तर, कांग्रेसको लगातारको हार, भाजपाको निरन्तरको उदयले १११ सिट समेट्यो भने कांग्रेस ६२ सिटमा खुम्चियो । अन्तिमपटक गुजरातले सन् १९९० मा त्रिपक्षीय प्रतिस्पर्धाको सामना गरेको थियो । जनता दल (जेडी)ले ७० सिट, भाजपाले ६७ र कांग्रेसले ३३ सिट ल्याएको थियो । जेडी र भाजपाले कांग्रेसको क्षतिमा उल्लेखनीय सिट ल्याएका थिए । जसको प्रमुख कारण प्री–पोल एलायन्स र सिट बाँडफाँटमा ध्यान दिएकोले सो नतिजा आएको जानकारहरू बताउँछन् ।
केही महत्वपूर्ण घटनाक्रमले चुनावको परिणाममा असर पार्न सक्ने
त्रिपक्षीय प्रतिस्पर्धा भएपनि यो चुनावमा केही महत्वपूर्ण घटनाक्रमले परिणाममा असर पार्नसक्ने राजनीतिक विश्लेषकहरूले आकलन गरेका छन् ।भाजपाले २७ वर्ष गुजरातमा शासन गरेपनि समाजका धेरै तप्काका मानिसहरू असन्तुष्ट छन् । महँगी, बेरोजगारी र जनजीवनसँग गाँसिएका साधारण कुराहरू पनि भाजपाले यति लामो समयसम्म सम्बोधन गर्न नसकेको ऊमाथि आरोप रहँदै आएको छ ।केही समयअघि गुजरातको मोर्बीमा रहेको झोलुङ्गे पुल भत्किँदा १३५ जनाको ज्यान गयो । उक्त पुल भत्किनुमा प्रशासन र धनी व्यापारीबीचको साँठगाँठको सम्बन्धको खुलासा भयो । यो विषयले पनि मतदाता प्रभावित हुने अनुमान गरिएको छ । सरकारी जागिरमा परीक्षाको बीचमा बारम्बार प्रश्नपत्र प्रकाशित हुने, सरकारी जागिरको लागि खुलेका आवेदन स्थगित भइरहने जस्ता समस्याले जनता आजित छन् । यसले पनि चुनावी परिणाममा असर गर्नसक्ने बताइएको छ । गुजरातलाई संघ परिवारको हिन्दुत्व प्रयोगशाला मानिन्छ । सन् २००२ मा भएको गुजरात दंगामा बिलकिस बानोको सामूहिक बलात्कार भएको थियो भने उनको पूरै परिवारको हत्या गरिएको थियो । सो केसमा दोषी ठहर भएका ११ जनालाई गएको १५ अगस्टमा भाजपाको पहलमा जेलबाट रिहा गरियो । जसको देशव्यापी रूपमा चर्को आलोचना समेत भएको थियो । उक्त केसले बहुमत र अल्पमत समुदायमा यो चुनावले असर पर्ने विज्ञहरू बताउँछन् । मुस्लिमहरूले बानोको लागि न्यायको माग गरिरहेका छन् भने हिन्दु अतिवादीहरूले बेवास्ता गरिरहेका छन् । गुजरातमा अल्पसंख्यक मुस्लिम मतदाताको संख्या ९ प्रतिशत मात्र छ । त्यो कांग्रेस पार्टीभन्दा पनि पछि पर्ने देखिन्छ । असदुद्दीन ओवैसीको एआईएमआईएमले मुस्लिम मत तान्न कोसिस गरिरहेको छ । तर, आपका केजरीवाल साम्प्रदायिक विषयहरू जस्तो लभ जिहाद र बानोको केसका अभियुक्तहरूको कैद रिहामा मौन बसेको छन् । गुजरातमा सबैभन्दा बढी बिजुलीको महसुल छ । गुजरातीहरू आप र कांग्रेसले प्रतिमहिना तीनसय युनिट निःशुल्क दिने प्रस्ताव कुरेर बसेका छन् । त्यहाँका उद्योगहरूले प्रतियुनिट भारु ७.५० तिर्नुपरेको छ । जबकी महाराष्ट्र र तेलङ्गना राज्यका उद्योगीहरूले प्रतियुनिट भारु ४ मात्र तिर्छन् । यस्तै, सरकारी योजनामा जमिन उपभोग गर्ने जग्गा अधिग्रहण नीति ल्याएपछि भाजपा सरकारसँग किसानहरू रिसाएका छन् । अहमदाबाद र मुम्बई जोड्न उच्च गतिको बुलेट ट्रेन बनाउने सरकारी निर्णयबाट त्यहाँका जनता खुशी छैनन् । उनीहरू बदोदारा र मुम्बई जोड्ने एक्स्प्रेस प्रोजेक्टको लागि पनि जग्गा अधिग्रहणको विरुद्धमा छन् । विगत दुई वर्षमा खडेरी परेपछि क्षतिपूर्ति नदिएकाले किसानहरू राज्यका विभिन्न भागमा आन्दोलनमा छन् । ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्यको अवस्था नाजुक छ । विद्यालय छ, तर शिक्षक छैनन्, शिक्षक छन् तर, व्यवस्थित विद्यालय छैन, अस्पतलामा डाक्टर छैनन् । यी केसहरूले पनि चुनावमा प्रभाव पार्न सक्ने जानकारहरू बताउँछन् ।
भाजपासँग जित्ने कार्ड
गुजरात चुनावमा भाजपासँग जित्ने कार्ड भएको कतिपयको आकलन छ । किनकि प्रधानमन्त्री मोदी गुजराती हुन् । उनी सन् २००१ देखि २०१४ सम्म गुजरातका मुख्यमन्त्री थिए । उनले छोडेको आठ वर्ष भएपनि उनका अनुयायीहरू प्रशस्त छन् । यस हिसाबले गुजरात चुनावमा उनले ठूलो निर्णायक भूमिका खेल्न सक्छन् । त्यसैगरी अमित शाह मोदीका दाहिने हात हुन् । उनले पनि यस चुनावमा भूमिका खेल्नेछन् । यस्तै, स्वच्छ छवि भएका भूपेन्द्र पटेल, जुन उपयुक्त जातको पनि मानिन्छन् । मोदीसँग हरेक पोस्टर र फ्रेममा देखिने उनी दोब्बर इन्जिनको सरकार चलाउने र केन्द्रसँगको बलियो सम्बन्धमा जोड दिइरहेका छन् । तर, चुनाव महासंग्रामको बेला कांग्रेसका नेता राहुल गान्धी भने भारत जोडो यात्रामा व्यस्त छन् । सन् २०१७ मा गुजरातका मन्दिर भ्रमण गरेर भाजपा र मोदीको चर्को आलोचना गरिरहेका हाल उनको ध्यान गुजरात चुनावबाट हटेको छ । आप देशको तेस्रो शक्तिको रूपमा उभिन खोज्दैछ । उसले शिक्षा, स्वास्थ्य र विद्युत्का मुद्दा उठाएको छ । र, अन्य राज्यमा भन्दा यहाँको अवस्था नराम्रो भएको भन्दै भाजपा सरकारको आलोचना गर्दै आक्रामक अभियान चलाएको छ । पूर्वपत्रकार इसुदान गद्भी र गोपाल इटानीया आपका ‘फेस’ हुन् । गद्भी मुख्यमन्त्रीको लागि लडिरहेका छन् । इटानीया सन् २०१५ मा गृहराज्यमन्त्रीलाई जुत्ता हानेपछि एकाएक चर्चामा आएका थिए ।