वीरगंज । पर्सामा नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ रामनगरीबाट महुवतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट एकजना ठेला चालकको ज्यान गएको हो ।
चटपटे बिक्रि गरेर ठेला चलाउँदै बहुवनबाट रामनगरीतर्फ जाँदै गरेका बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरी निवासी ४५ वर्षीय तपसी साह कानुको घटनास्थलमै मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक आयुश जोशीको नेतृत्वमा खटिएको टोलीले मृतकको लास जाँच, प्रकृती मुचुल्काको काम सकेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । घटनापश्चात ट्याक्टर लिएर फरार चालकलाई प्रहरीले खोजी कार्य तिव्र पारेको पनि डिएसपी गिरीले बताए ।