वीरगंज । अज्ञात सवारीसाधनले मर्निङवाकमा हिडेका एकजना पैदल यात्रुलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ । रौतहट जिल्लाको गौर चन्द्रनिगाहपुर सडक खण्डमा भएको अज्ञात सवारीसाधनले स्थानीय व्यवसायी ४० वर्षीय राजनारायण साहलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । सोमबार बिहान पाँच बजे तिर मर्निङवाकमा हिडेका उनलाई जिंगडियामा अज्ञात सवारीसाधनले ठक्कर दिएर फरार भएको थियो । प्रहरीले हालसम्म पनि ठक्कर दिने सवारीसाधनको पहिचान गर्न सकेको छैन ।
प्रहरीले ठक्कर दिने गाडीको पहिचान गर्न नसक्दा पीडित परिवार र गरुडाका स्थानीय व्यापारी मिलेर झन्डै २ घण्टासम्म गौर चन्द्रपुर सडक अवरुद्ध गरेका थिए । गरुडा नगरप्रमुख कन्थमणि जयसवालले दुर्घटना भएको ८ घण्टा बित्दा पनि ठक्कर दिएर भागेको सवारीसाधनको बारेमा यकिन नहुनुमा प्रहरीको कमजोरी रहेको बताएका छन् । व्यवसायीहरुले गरेको अवरोधलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सन्तु जयसवार, जिल्ला ट्राफिक प्रमुख इन्स्पेक्टर विमला कठायत सहितको टोली पुगेर खुलाएको छ । अहिले पीडित परिवार,व्यापारी तथा मेयर जयसवाल र प्रहरीबीच इलाका प्रहरी कार्यालय गरुडाको प्राङ्गणमा छलफल भइरहेको छ ।
गरुडा बजारदेखि जिंगडियासम्म रहेको सिसिटिभी क्यामरामा हेरेर तथा घटना बारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी वरुण सिंहले बताएका छन ।