वीरगंज । काठमाडौं–तराई–मधेस द्रुतमार्गको छैटौँ प्याकेज ठेक्का बदरको माग गर्दै दायर रिटमाथि आजका लागि पेसी तोकिएको छ । सोबारे सर्वोच्च अदालतमा गएको बिहीबार रिट निवेदन दर्ता गरिएको थियो । न्यायाधीश हरि फुयालको इजलासमा पेसी तोकिएको हो ।
रिटमा नेपाली सेनाले सुरुमा प्राविधिक प्रस्ताव अस्वीकार गरेको चिनियाँ कम्पनीलाई नियमविपरीत द्रुतमार्गको छैटौँ प्याकेज ठेक्का दिएको भन्दै बदरको माग गरिएको छ । ठेक्का प्रक्रियामा सामेल भएको भारतीय आफ्कोन्स इन्फ्रास्ट्रक्चर लिमिटेडका तर्फबाट अधिवक्ता सुजन रिजालले रिट दायर गरेका हुन् ।
सेनाले प्याकेज ६ को ठेक्का चाइना फस्ट हाइवे कम्पनीलाई दिएको थियो । जसको प्राविधिक प्रस्ताव सुरुमा सेनाले अस्वीकृत गरेको थियो । सेनाको निर्णय कानुनसम्मत नभएको भन्दै भारतीय कम्पनी सर्वोच्च गएको हो । रिटमा सार्वजनिक खरिद अनुगमन कार्यालय, सार्वजनिक खरिद पुनरवलोकन समिति, काठमाडौं–तराई–मधेस द्रुतमार्ग परियोजना, चाइना फस्ट हाइवे कम्पनी, नेपाली सेना र रक्षा मन्त्रालयलाई विपक्षी बनाइएको छ ।