वीरगंज । पर्सामा राम्रै नतिजा ल्याएकाे नेपाली कांग्रेसले बारामा निराशाजनक प्रदर्शन गरेको छ । नेपाली कांग्रेसले बारामा हाल सम्म खाता समेत खोल्न सकेको छैन् । बाम लोकतान्त्रि गठबन्धनबाट बारामा नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्यमा एक ठाउँमा टिकट सुरक्षित गरेको भएपनि लोसपाको भागमा परेको क्षेत्र नं. ३ मा पनि लोसपाले उम्मेदवारी दिन नसक्दा नेपाली कांग्रेसकै नेता नेता लालबाबु भुइहारले लोसपा पार्टी प्रवेश गर्दै साइकल छापमा चुनाव लडेका थिए । तर दुबै क्षेत्रमा नेपाली कांग्रेसका नेताको जित्ने सम्भावना छैन् ।
त्यसैगरी प्रदेश सभा सदस्य तर्फ नेपाली कांग्रेसले बारमा ४ ठाउँमा चुनाव लडेको थियो । क्षेत्र नं. १ को “क” र “ख” दुबै ठाउँमा,क्षेत्र नं. २ को “ख” मा तथा क्षेत्र नं.३ को “ख” मा नेपाली कांग्रेसले प्रदेश सभा सदस्यमा चुनाव लडेको थियो । तर हाल सम्म नेपाली कांग्रेसका कुनै उम्मेदवार जितको नजिक पुग्न सकेको छैन् । निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न बाकी रहेको भएपनि पछिल्लो मत परिमाणको नतिजा अनुसार प्रदेश सभा सदस्यमा पनि नेपाली कांग्रेसका उम्मेदवार कुनै क्षेत्रमा जित्ने सम्भावना छैन् ।
प्रतिनिधि सभा तर्फ बारा क्षेत्र नं. ४ मा नेकपा एकिकृत समाजवादी पार्टीका नेता कृष्णकुमार श्रेष्ठ निर्वाचित भएका छन् । क्षेत्र नं. १ मा नेकपा एमालेका नेता अच्युत मौनाली जितको नजिक पुगेका छन् । अन्तिम परिमाण आउँन बाकी रहेको भएपनि मैनाली फराकिलो मतान्तरले अगाडी रहेका कारण उनका निकटम प्रतिद्वन्दी उमाकान्त चौधरीले उछिन्ने अवस्था समाप्त भएको छ । प्रदेश सभा सदस्य तर्फ पनि कांग्रेस नेताहरु फराकिलो मतान्तरले पछाडी रहेका कारण जित्ने सम्भावना छैन् । यसरी हेर्दा बारामा नेपाली कांग्रेस निल हुने अवस्थामा पुगेको छ । पार्टी भित्रको अन्तर कलह र गठबन्धन भित्र पनि धोकाधडीका कारण बारामा कांग्रेस निल हुने अवस्थामा पुगको आम नेपाली कांग्रेसका कार्यकर्ताहरुको भनाई छ ।