वीरगंज । चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना मतदातालाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जालमा एउटा लामो स्टाटसमार्फत उनले आफ्ना केही धारणा समेत सार्वजनिक गरेका छन् । ‘राजनीतिमा निर्वाचित हुनु भनेको विययी हुनु होइन, यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो, लामिछानेले भनेका छन्– ‘म आजबाट जाँच दिन जाँदैछु, जसको नतिजा ५ वर्षपछि मात्र आउँछ । म जनतालाई जिताउने जाँच दिन जाँदैछु । त्यसैले म अहिले नै विजय र्याली गर्न चाहन्न ।’
लामिछानले भनेका छन्– ‘म विजय र्यालीको साटो आज ३ बजे, भरतपुर १०-गेस्ट हाउस चौरमा, भोलि ११ बजे इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउण्ड, कुरिनटारमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालिकामा ‘धन्यवाद सभा’गर्दैछु ।’‘एउटा अनुरोध, कृपया त्यहाँ आँउदा मेरा लागि फुल,माला,अबिर खदा केही पनि नल्याउनु होला । म आजबाटै काम थाल्दैछु, लामिछानेले भनेका छन्– ‘मेरो सभा हुने ठाँउहरुमा दुई वटा बाकस हुनेछन् । एउटा बाकसमा ‘समस्या पेटिका’लेखिएको हुनेछ ।
त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला । अर्को बाकसमा ‘उजुरी, समस्या, सुझाव पेटिका’ लेखिएको हुनेछ । त्यसमा, भ्रस्टाचारीका सुचना, मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला । माला, अबिर, खदामा हामीले गरेको खर्च प्रायस् सबै बिदेश जान्छ । केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फुल भए मलाई पुग्छ ।’‘म छिटोभन्दा छिटो काममा लाग्न चाहन्छु । भोट माग्न, र्याली गर्न आउन नभ्याएका ठाउँमा म काम गर्न आउँछु, उनले भनेका छन् ।