वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका राजकुमार गुप्ता निर्वाचित भएका छन् । रोचारक प्रतिष्पर्धाका विच नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरीलाई १ सय ५१ भोटको झिनो मतान्तरले पराजित गर्दै गुप्ता निर्वाचित भएका हुन् ।
बुधबार अवेर राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार गुप्ताले २४ हजार २६० मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी चौधरीले २४ हजार १०९ मत पाएका छन् ।
मतगणनाको सुरुवातदेखि चौधरीले अग्रता लिएपनि अन्तिम समयमा आएर गुप्ताले मतान्तर घटाउँदै गएका थिए ।
गुप्ता र चौधरी यसअघि २०७४ मा यसै क्षेत्रबाट तत्कालिन संघीय समाजवादी फोरम नेपालका हरिनारायण रौनियारसँग पराजित भएका थिए ।
यद्दपी यस पटक जसपा-एमालेले गठबन्धनका कारण पर्सा-३ एमालेको भागमा परेपछि जसपाले प्रदेशसभामा आफ्नो उम्मेदवार लडाएको थियो ।
गुप्ता दोस्रो संविधान सभाको निर्वाचनमा पर्सा-३ बाट निर्वाचित भएका थिए भने चौधरी पर्सा-४ बाट निर्वाचित भएका थिए ।