वीरगंज । सल्यानको शारदा नगरपालिका–२ लुहापिङ्गलस्थित श्री त्रिभुवन जन माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमिता भएको अख्तियारको अनुसन्धान निष्कर्ष छ । भवन निर्माण गर्दा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । बुधवार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले रातोपाटीलाई जानकारी दिए ।
आयोगले शारदा नगरपालिका वडा नम्बर–२ का तत्कालीन वडा अध्यक्ष केशव सिंह श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज शर्मा, भवन निर्माण समितिका अध्यक्ष रिमलाल भण्डारी र तत्कालीन प्रअ माधव विक्रम जिसीविरुद्ध मुद्दा दायर गरेको छ ।
शारदा नगरपालिकाका इन्जिनियर तुफान जि जङ्ग केसी र सव–इन्जिनियर सरस्वती थापालाई पनि आयोगले विपक्षी बनाएको छ । भवन निर्माण गर्दा फिल्डमा भएको भन्दा धेरै काम देखाएर ८७ लाख ३ हजार भ्रष्टाचार भएको आयोगको ठहर छ ।