वीरगंज । गगन थापा पछिल्लो समय नेपाली राजनीतिका सबैभन्दा प्रखर वक्ता हुन् । रेडियो र टेलिभिजन पत्रकारिता समेत गरेका गगन थापा बोल्न जति सिपालु छन्, राजनीति गर्न त्यत्तिकै सक्रिय छन् । त्यही सक्रियताले उनलाई काठमाडौँ ४ मा यसपटक ‘ह्याट्रिक’ जित दिलाएको छ । यसअघि २०७० साल र २०७४ सालको चुनाव जितेका गगन थापाले यसपटक प्रधानमन्त्री बन्नका लागि भोट मागेका थिए । भावी प्रधानमन्त्रीका लागि उम्मेद्वारी दिएको बताउने गगन थापाले सांसद बने लगत्तै संसदीय दलको नेता बन्नका लागि तयारी बन्ने घोषणा गरेका थिए ।
अहिले युवाहरुले आफूलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहेको भन्दै गगनले प्रधानमन्त्रीका लागि दाबी गरेका छन् । भावी प्रधानमन्त्रीका लागि देउवा, प्रचण्डले दाबी गरेका बेला यसपटकको चुनावी मतपरिणामले युवा प्रधानमन्त्रीका रुपमा गगनको सम्भावना बढाएको छ । यद्यपी संसदीय राजनीतिले कसलाई प्रधानमन्त्री बनाउँछ भन्ने कुरा सत्ता र शक्तिको रस्साकस्सीले तय गर्छ । संसदीय दलको चुनावमा यसपटक कांग्रेस सभापति शेरबहादुर देउवा र गगनबीच प्रतिष्पर्धा हुने देखिन्छ । देउवा फेरि प्रधानमन्त्री बन्न संसदीय दलको नेता हुने पक्कापक्की भएपछि गगनको ठूलो चुनौति खडा भएको छ । यतिबेला रवि लामिछानेको उदयले गर्दा पनि कांग्रेसभित्रै देउवा कित्ताका नेताहरु गगन थापाको कित्तामा आउने सम्भावना बढेको छ।
यद्यपी गगनको यसपटकको दाबीले धेरै बल मिलेको छ । नेपाली कांग्रेस वृत्तमा पनि अब गगनको दाबीले बल पुग्ने देखिन्छ ।महामन्त्रीसमेत रहेका दुवै गगन थापा र विश्वप्रकाश शर्माको जितले पनि अब कांग्रेसभित्रै गगनको प्रधानमन्त्री दाबेदारीले पकड जमाउने भएको छ । काठमाडौँमा लगातार जित निकालेर ह्याट्रिक गरेका गगन थापा के अब प्रधानमन्त्री बन्न सक्लान ? यो प्रश्नले जति धेरै आशा र सम्भावना बनाएको छ, त्यति नै गगनको दाबेदारीले मार्गनिर्देशन गरेको छ ।सपटक रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका धेरैजसो युवा सांसद, कांग्रेसका युवा सांसद र देशका नागरिकले चाहेको परिवर्तनलाई आत्मसात गर्ने हो भने अबको पाँच वर्षभित्रै वा पाँच वर्षपछि गगन थापा प्रधानमन्त्री बन्ने पक्का छ ।