वीरगंज । पर्सा क्षेत्र नम्बर ४ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जालिम मियाँका छोरा नमुना मतपत्र र स्वस्तिक छापसहित पक्राउ परेका छन् । जसपा-एमाले गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मियाँका छोरा सबिर अहमद ५ सय ९८ थान मतपत्र र ४ थान स्वस्तिक छापसहित पक्राउ परेका हुन् ।
अहमदलाई प्रहरीले शनिबार दिउँसो कालिकामाई गाउँपालिका वडा नम्बर १ को मुडली गाउँबाट पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीपक गिरिले जानकारी दिए । मुडलीमा सवारी साधन चेकजाँचका क्रममा बा १४ च ४७४८ नम्बरको हाइलेक्स गाडी रोकेर चेकजाँच गर्दा गाडी भित्रबाट नक्कली मतपत्र र स्वस्तिक छाप बरामद गरिएको गिरिले बताए ।
मौन अवधिको समयमा चुनावी प्रचार प्रसार गर्ने सामग्रीसहित भेटिएको कारण अहमदलाई पक्राउ गरिएको गिरिले बताए । अहमदलाई मतपत्र, छाप, गाडीसहित पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का प्रमुख निर्वाचन अधिकृतको कार्यालयको जिम्मा लगाइएको उनले जानकारी दिए ।