वीरगंज । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको ४० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले कोषको पैसा एक वर्षका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपको रुपमा राख्ने भएको हो ।
मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले २०७९ मंसिर ८ गतदेखि २०८० मंसिर ९ गतेसम्म कुल ३६७ दिनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा सो रकम राख्ने जनाएको हो । सूचना अनुसार केन्द्रीय बैंकले कुल रकम मध्ये ३२ करोड रुपैयाँ वाणिज्य बैंकमा, ६ करोड रुपैयाँ विकास बैंकमा र २ करोड रुपैयाँ ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुका लागि छुट्याइएको छ ।
निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाहरुलाई बैंकले कात्तिक २९ गते मंगलबारदेखि मंसिर १ गतेसम्म राष्ट्र बैंकको आधिकारिक अनलाइन पोटलमार्फत आवेदन दिन आह्वान गरेको छ । तर, यस्ता बैंक तथा वित्तीय संस्थाहरु संचालनको २ वर्ष पुरा गरेको हुनुपर्नेछ भने तोकिएको न्यूनतम् पुँजीकोष अनुपात कायम गरेको र निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्ने केन्द्रीय बैंकले सर्त राखेको छ ।