वीरगंज । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार अवधि अब ३ दिन मात्र बाँकी छ । निर्वाचन आयोगले १ मङ्सिर मध्यरातिदेखि कोणसभा, आमसभा, ¥याली, गोष्ठीलगायत सबै किसिमका प्रचारप्रसार गर्न रोक लगाएको छ । विगतका निर्वाचनमा झैँ निर्वाचनभन्दा ४८ घण्टाअघि र मतदान सम्पन्न नभएसम्मको अवधिलाई मौन अवधि मान्ने गरिन्छ । आयोगले यस पटकदेखि मौन अवधि र शून्य समयलाई ‘स्थिर समय’ मान्ने भएको छ । निर्वाचन कानुनमा मौन अवधि शब्दबारे प्रष्ट व्यवस्था नभएकाले शब्द हेरफेर गरिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले बताए ।
अन्तर्राष्ट्रिय अभ्यासमा ‘साइलेन्स पिरियड’ प्रयोग भएको तर केही देशका अदालतहरूले यसलाई अभिव्यक्ति स्वतन्त्रताको खिलाफ भएको भनी फैसला गरेका तथ्य छन् । तर, नेपालको निर्वाचन कानुनले भने यो शब्दबारे प्रष्ट व्याख्या नगरेकाले निर्वाचन प्रचारप्रसार रोक लगाइएको अवधिलाई ‘स्थिर समय’का रूपमा प्रयोग गरेको उनको भनाइ छ । निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ (५) अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडिदेखि निर्वाचनको प्रचारप्रसारसँग सम्बद्ध कुनै पनि कार्यक्रम गर्न पाइँदैन । स्थिर समयमा दल तथा उम्मेदवार र उम्मेदवारका समर्थकले मतदान प्रभावित पार्ने शैलीका गतिविधि गरेको पुष्टि भएमा उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ ।
प्रचारप्रसारको अवधि सकिन अवधि नजिकिँदै गर्दा आचारसंहिता उल्लङ्घनका घटना बढ्ने भएकाले आयोग सतर्क बनेको निर्वाचन आयुक्त एवं केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजक रामप्रसाद भण्डारीले बताए । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले गत १२ असोजदेखि आचारसंहिता लागू गरेको छ । आचारसंहिता लागू भएपछि आचारसंहिता उल्लङ्घनका घटनाबारे उजुरी प्राप्त भएको तथा आयोगले नियम उल्लङ्घन गर्ने दल र उम्मेवारहरूलाई तत्कालै स्पष्टीकरण सोध्दै कारबाही प्रक्रिया अघि बढाएको भण्डारीको दाबी छ ।