वीरगंज । त्रिभुवन आर्मी क्लबले मंगलबार कर्णाली प्रदेशमाथि १४० रनको जित निकालेसँग प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
कर्णालीविरुद्ध जित निकालेसँगै आर्मी सेमिफाइनल पुग्ने चौथो टिम बन्यो । आर्मी समूह ‘ए’ बाट उपविजेता बन्दा सशस्त्र प्रहरी बलको एपीएफ क्लब समूह विजेताको रुपमा सेमिफाइनल पुग्यो । एपीएफले चार खेलबाट सात अंक जोड्दा आर्मीले ६ अंक जोड्यो । पाँच अंकसहित गण्डकी प्रदेश तेस्रो स्थानमा, दुई अंकसहित सुदूरपश्चिम प्रदेश चौथो र अंकविहीन कर्णाली प्रदेश पाँचौँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिए ।
समूह ‘बी’बाट आठ अंकसहित नेपाल पुलिस क्लब विजेता र पाँच अंक जोडेको मधेस प्रदेश उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरे । यस्तै, चार अंकसहित तेस्रो स्थानको लुम्बिनी प्रदेश, दुई अंकसहित चौथो स्थानको प्रदेश–१ र एक अंक जोडेर पुछारमा रहेको वाग्मती प्रदेश समूह चरणबाटै बाहिरिए ।
दुवै सेमिफाइनल खेलहरू कात्तिक २४ गते हुनेछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह ‘ए’ को विजेता एपीएफ र समूह ‘बी’ को उपविजेता मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, मुलपानी क्रिकेट मैदानमा समूह ‘बी’ को विजेता पुलिस र समूह ‘ए’ को उपविजेता आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।