वीरगंज । कालिकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ छ ४४१२ नम्बरको जिप कालिकोटको तिलागुफा नगरपालिका खल्लागाडमा दुर्घटनामा परेको हो । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीका अनुसार एकजनाको घटनास्थलमै र अन्य दुईजनाको उपचारका क्रममा मृत्यु भएको हो ।
घटनास्थलमै मृत्यु हुनेमा मुगु गमगढीका २१ वर्षीय अकल बिक रहेका छन् । बाँकी दुईजनाको पहिचान हुन बाँकी रहेको अधिकारीले बताए । प्रशासनका अनुसार सातजना घाइते भएका छन् । घाइते हुनेमा मुगुका १७ वर्षीय धीरज बुढा, १६ वर्षीय गोपीचन्द्र बुढा, ३१ वर्षीय सन्तोष शाही, हुम्लाका २२ वर्षीय केशरी शाही, २४ वर्षीय उज्जवल सिंह र मुगुका जिप चालक ३५ वर्षीय प्रेमसिंह बडुवाल रहेका छन् ।
घाइते एकजनाको पहिचान नखुलेको प्रशासनले जनाएको छ । ६ जना सामान्य घाइते र एकजना गम्भीर घाइते भएको अधिकारीले बताए । उनीहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।