बारा । प्रमुख निर्वाचन अधिकृत पुर्णेश्वर प्रसाद उपाध्यायले निर्वाचन आचारसंहिताभित्र रहेर समाचार प्रसारण गर्न आग्रह गर्नुभएको छ । बाराको कलैयास्थित दरबार होटेलमा निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन अधिकृत उपाध्यायले कसैको मानहानी हुने गरी र एक पक्षीय रुपमा समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभयो । उहाँले आचारसंहिता उल्लङ्घन गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन आफूहरू बाध्य हुने बताउनुभयो ।
उहाँले भड्किलो प्रचारप्रसार, फजुल खर्च नगर्न र उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित भेष्ट, टोपी, सर्ट, ज्याकेट लगायतका सामग्रीहरु उपयोग नगर्न नगराउन सम्बद्ध सबै पक्षलाई अनुरोध गर्नुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भयरहित वातावरणमा मतदान गर्न स्थलसम्म आउनलाई शान्ति सुरक्षाको भरपूर व्यवस्था गरेको हुँदा निर्धक्क भएर आफूलाई मन परेका उम्मेदवारलाई मतदान गर्न मतदातालाई आग्रह गर्नुभयो ।
मिडिया आफैमा एउटा सशक्त माध्यम भएको हुँदा विभिन्न पार्टीबाट भएका उम्मेदवारहरूले आचारसंहिताको पालना नगरेको र निर्वाचनलाई प्रभावित पार्ने जस्ता कामहरू गर्ने गरेको समाचारहरू सम्प्रेषण गरी सचेत गराउन तिर पत्रकारहरूको भूमिका अपरिहार्य रहेको बताउँदै उहाँले भारतीय गाडीहरूको प्रयोग निर्वाचनमा कुनै पनि बहानामा हुन नदिन सुरक्षा निकाय प्रतिबद्ध रहेको प्रष्ट पार्नुभयो । कार्यक्रममा ज्वालादल गुल्मका गणपति भूपेन्द्र पोद्दार, नेपाल प्रहरीका प्रहरी उपरिक्षक होविन्द्र बोगटी, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र थापा, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सन्तोष ढुङ्गेल, कोष नियन्त्रक प्रशुराम क्षेत्री, पत्रकार महासङ्घका उपाध्यक्ष रामबाबु मेहता लगायतकाले आफ्नो विचार व्यक्ति गर्नुभएको थियो ।