वीरगंज । बदर मत घटाउन सल्यानमा नमुना मतदान भएको छ। जिल्लाका ४ वटा पालिकामा नमुना मतदान भएको हो । मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई दृष्टिगत गर्दै दार्मा, शिद्धकुमाख गाउँपालिका, वागचौर र शारदा नगरपालिका नमुना मतदान भएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ। एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको सल्यानमा १० स्थानमा नमुना मतदान सञ्चालन गरिने छ।
निर्वाचन कार्यालयका प्रमुख निमराज भट्टराईले निर्वाचनमा बदर मत घटाउने र मतदातालाई मतदाता शिक्षा दिने उदेश्यले नमुना मतदान गरिएको बताउनुभयो। उहाका अनुसार निर्वाचनमा मतदान गर्ने तरिका लगायतका विषयमा जानकारी दिएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो।
निर्वाचन कार्यालयले स्थानीय तहको एकजना अधिकृत तहको कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्ति (अनुगमन अधिकृत)को रूपमा जिम्मेवारी तोकेको छ। जिल्ला निर्वाचनका कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्र चन्दले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित बनाउन, निर्वाचन आचारसंहिता पालनाका लागि पनि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।