वीरगंज । विरोध जुलुसमा सहभागी भएका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि बिहीबार गोली प्रहार भएको छ। राजधानीको पूर्वी शहर बाजिरावादमा आयोजित विरोध कार्यक्रममा सहभागी भएका खानमाथि गोली प्रहार भएको हो। उनलाई तत्कालै उपचारको लागि अस्पताल लगिएको जनाइएको छ। बीबीसीले गोली प्रहारको उद्देश्य उनको हत्या गर्नु रहेको स्पष्ट देखिने टिप्पणी गरेको छ। गोली काण्डमा खानबाहेक उनको दल पीटीआईका अन्य चार जना सदस्य पनि घाइते भएका छन्।
गोली खुट्टामा लागेको छ। कहाँ लागेको छ भन्ने यकीन भएको छैन। उनी खतरामुक्त रहेको उनका एक सहयोगीले जनाएका छन्। ७० वर्षीय खानले आफ्नो नेतृत्वको सरकार बर्खास्त गरिएपछि निर्वाचनको माग गर्दै विरोध कार्यक्रम गरिरहेका छन्। “यो उनलाई मार्ने योजना थियो,” खानका एक सहयोगीले समाचार संस्था एएफपीलाई भने, “उनको हत्या नै गर्ने प्रयास गरिएको हो।”
पाकिस्तानको जिओ टीभीले जनाएअनुसार घटना संलग्न भएको आरोपमा एक जना युवकलाई पक्राउ गरिएको छ। गत महीना पाकिस्तानको निर्वाचन आयोगले पूर्व क्रिकेटर खानलाई चुनाव लड्न अयोग्य रहेको ठहर गरेको थियो। उनीमाथि विदेशी प्रतिष्ठित व्यक्तिबाट प्राप्त उपहारको गलत विवरण पेश गरेको र तिनको बिक्रीबाट प्राप्त रकमको हिनामिना गरिएको आरोप लागेको थियो। उनले विदेशी व्यक्तिबाट पाएको उपहारमा रोलेक्स कम्पनीका महंगा घडीहरू, एउटा औंठी र कफलिंक थियो।