वीरगंज । तीव्र गतिमा गुडाएको यात्रुवाहक विंगर गाडी (जिप)को ठक्करबाट मंगलबार साँझ एक महिलाको मृत्यु भएको छ । नेपालगन्जबाट राजापुरतर्फ गइरहेको भे १ ज १११२ नम्बरको विंगरले गुलरिया—४ क्याम्पस रोडमा पैदल यात्रुलाई ठक्कर दिएको हो ।
जिल्ला ट्राफिक कार्यालय, बर्दियाका प्रमुख ईश्वर देवकोटाले विंगरको ठक्करबाट सुर्खेत वीरेन्द्रनगर—२ ठौरी घर भई गुलरिया—४ मा डेरामा बस्दै आएकी ४९ वर्षीया सूर्यकला राजीको मृत्यु भएको बताए ।
सख्त घाइते भएकी राजीलाई जिल्ला अस्पताल गुलरियामा उपचार गर्ने क्रममा मृत्यु भएको उनले बताए। प्रहरीले विंगर र चालक बढैयाताल गाउँपालिका—८ का २१ वर्षीय घनश्याम केसीलाई नियन्त्रणमा लिएको छ । चालकको लापरवाहीका कारण ठक्कर दिएको भन्दै स्थानीयहरूले उनीमाथि कडा कारबाहीको माग राख्दै चक्काजाम गराएका छन् । यहाँ सञ्चालित विंगरका चालकले लापरबाही ढंगले सवारी गुडाउने गर्दा दुर्घटना बढेको स्थानीयहरूको भनाइ छ । दुर्घटना स्थलमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।