वीरगंज । वैदेशिक रोजगारका लागि साउदी अरबमा रहेका रोल्पाका एक युवकको रियादमा मृत्यु भएको छ । साउदीस्थित रियादको एक रेस्टुराँमा कार्यरत पूर्वी रोल्पाको लुंग्री गाउँपालिका–५ गोठीबाङ बडाचौरका ४१ वर्षीय हिरे घर्तीमगरको सोमबार (अक्टोबर ३१) मृत्यु भएको उनको परिवारले जनाएको छ ।हिरेका भाई सुन्दरबहादुरका अनुसार काम गर्दागर्दै कात्तिक ८ गते अचानक बेहोस भएका हिरेलाई उपचारका लागि किङ सलमान अस्पतालमा पुर्याएर भर्ना गरिएको थियो । करिब एक सातासम्म अस्पतालमा राखिए पनि सन्चो नभएको र अस्पतालमा सोमबार उनको मृत्यु भएको जानकारी पाएको उनले बताए ।
‘त्यहाँको नेपाली दूतावासका कर्मचारीसँग सम्पर्क गरेका थियौं, सुरुमा उपचार हुन्छ भन्ने खबर आयो । एक सातापछि भने बचाउन सकेनौं, मृत्यु भयो भन्ने जानकारी आयो,’ सुन्दरले भने । विदामा घर आउने योजनामा रहेका हिरे रेस्टुराँमा काम गर्ने क्रममा अचानक ढलेका थिए । रियादस्थित अल्कावसा अल्हासावैह नामको कम्पनीमा कुकका रुपमा कार्यरत उनलाई बिरामी भएबित्तिकै अस्पताल पुर्याइएको थियो । ‘सुरुमा ब्रेन ह्यामरेज भएको खबर आएको थियो, अस्पतालमा आफ्नो मानिसलाई पठाएर उपचार गराउने व्यवस्था मिलाएका थियौं । उपचार भएन,’ सुन्दरले भने । बिरामी हिरेलाई एउटै कोठामा सँगै बस्ने साथीले अस्पतालमा पुर्याएका थिए । सुरुमा अप्रेसन गरेर ज्यान जोगाउन सकिने परिवारमा जानकारी आएको थियो । अस्पतालमा पुर्याएपछि उनी बेहोस भएका बेलामा अंग दान गर्नेबारे अस्पतालका कर्मचारीले परिवारसँग अनुमति मागेका थिए । परिवारले अंग दान गर्ने अनुमति नदिएको सुन्दरले बताए ।
अंग दान गर्नेबारे अस्पतालबाट च्याटमा र मौखिक रुपमा अनुमति मागिएको भए पनि परिवारले उपचार गर्नतिर ध्यान दिन आग्रह गरेको थियो । अस्पताल पुर्याएको तेस्रो दिनदेखि आफन्तलाई भेट गर्न नदिएको सुन्दरको गुनासो छ । यसैबीच, हिरेको मृत्यु भएको वा हत्या गरिएको भन्नेबारे परिवारले आशंका गरेको छ । नेपालमा ल्याइएको शवको पोष्टमार्टम गर्न र अंगभंग नभएको शव बुझ्ने पारिवारिक चाहना भएको सुन्दरले बताए । ७ वर्षअघि पहिलोपटक साउदीमा गएका हिरे एक पटक विदामा घर आएका थिए । घरमा उनका दुई छोरी र दुई छोरा गरी चार सन्तान छन् । एक वर्षअघि सुन्दरका एक आफन्त भाईको मृत्यु साउदीमै भएको थियो ।