वीरगंज । रुसले गरेको मिसाइल आक्रमणका कारण युक्रेनको राजधानी किएभसहितका क्षेत्रको जनजीवन गम्भीर रूपमा प्रभावित भएको छ। राजधानी किभएका बासिन्दा पानीका लागि लाइनमा बस्न बाध्य भएका छन्। रुसले युक्रेनको किएभसहितका प्रमुख शहरका पूर्वाधारहरूमा निशाना बनाएर मिसाइल आक्रमण गरेपछि खानेपानीसहितका अत्यावश्यक सेवा अवरुद्ध भएका हुन्।
किएभका मेयरले दिएको पछिल्लो जानकारीअनुसार शहरका ४० प्रतिशत उपभोक्ता खानेपानी सेवाबाट वञ्चित भएका छन्। यस्तै, दुई लाख ७० हजार घरमा विद्युत आपूर्ति बन्द भएको छ।
रुसले गरेको मिसाइल आक्रमणका कारण १३ जना घाइते भएको युक्रेनी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। युक्रेनी सैनिकको नियन्त्रणमा रहेका क्षेत्र र ऊर्जा प्रणालीलाई निशाना बनाइएको रुसले उल्लेख गरेको छ। रुसी लडाकु पानी जहाजमा भएको आक्रमणको बदला लिनका लागि यस्तो गरिएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार बताएका थिए।