वीरगंज । विश्वका सबैभन्दा धनाढ्य एवम् टेस्ला कम्पनीका मालिक इलोन मस्कले ट्विटर खरिद प्रक्रिया पूरा गरेका छन् । उनले ४४ अर्ब डलरमा सामाजिक सञ्जाल खरिद गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनले ट्विट गर्दै ‘चरी स्वतन्त्र भयो’ भनेर उल्लेख गरेका छन् । ट्विटर खरिद गरेलगत्तै उनले पराग अग्रवालसहित ट्विटरका वरिष्ठ अधिकारीहरुलाई बर्खास्त गरेको बताइएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अग्रवाल र अरु दुई कार्यकारीहरुलाई बिहीबार बेलुकी अमेरिकाको सन फ्रान्सिस्को सहरमा रहेको ट्विटरको मुख्यालयबाट बाहिर निकालिएको थियो ।
यसअघि मस्कले ट्विटर खरिद नगर्ने संकते गरेका थिए । यद्यपि कानूनी झमेलामा पर्ने देखिएसँगै उनले ट्विटर खरिद प्रक्रियालाई पूर्णता दिएको बीबीसीले जनाएको छ । मस्कले ट्विटर खरिद गरेसँगै उक्त सामाजिक सञ्जालले भविष्यमा अवलम्बन गर्ने दिशाबारे पनि प्रश्न उठेको जनाइएको छ ।
आफूलाई वाक् स्वतन्त्रताको हिमायतीको रुपमा चित्रित गर्दै आएका मस्कले प्रायः ट्विटरको आलोचना गर्दै आएका छन् । उनले यसअघि ट्विटरले प्रतिबन्ध लगाएका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र अरु व्यक्तित्वहरुलाई पुनः ट्विटर चलाउन दिने पनि बताएका छन् । यसैसताको सुरुमा मस्कले आफ्नो ट्विटरको बायोमा ‘चिफ ट्विट’ लेखेका थिए । पछि उनी भान्सामा प्रयोग हुने सिङ्क बोकेर ट्विटरको मुख्यालयमा पुगेको भिडियो सार्वजनिक थिए । उक्त भिडियोको क्याप्सनमा उनले ‘लेट द्याट सिङक इन’ लेखेका थिए ।