वीरगंज । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सकिएसँगै छठ पर्वको रौनक सुरु भएको छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रूपमा लिइन्छ । अहिले काठमाडौं उपत्यकासहित तराई–मधेशमा छठको रौनक सुरु भएको छ । छठ पर्व मनाउन राजधानीको गौरीघाटमा छठघाट बनाउने काम अन्तिम चरणमा पुगेको छ । छठपूजा समितिका सदस्य किरणकुमार दासले गौरीघाटमा ५१७ वटा छठघाट निर्माण गरिएको जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष २३ वटा घाट बढी निर्माण गरिएको सदस्य दासले बताउनुभयो । गत वर्ष पूजा गर्न घाट नपुगेका कारण यो वर्ष बढी घाट निर्माण गरिएको उहाँको भनाइ छ ।
छठपूजाको सामग्री केरा, उखुलगायत अरू सामग्री नेपालकै उत्पादनले पुग्ने तर नरिवल भने भारतबाट ल्याउनु पर्ने उहाँले बताउनुभयो । यो वर्ष कम्तीमा पाँच लाखले छठ पर्वको अवलोकन गर्ने उहाँको अनुमान छ । उपत्यकाको कुपन्डोल, कालीमाटी र गौरीघाटमा छठमा चाहिने सामग्री पसल राखिएकोले सामान सजलै पाउन सकिने छ । लक्ष्मीपूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्लपक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत् रूपमा आरम्भ हुन्छ ।सम्पूर्ण मनोरथ पूरा हुने तथा आरोग्य प्राप्त हुने कामना गर्दै छठ व्रतका व्रतालुहरूले शुक्रबार नहाखायबाट महानपर्व छठको सुरुवात गरेका हुन् । पहिलो दिन अर्थात् चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा नहान खाय पनि भन्ने गरिन्छ । शुक्रबार छठि व्रत गर्ने व्रतालुहरूले नजिकैको खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाएका छन् ।
आज शुक्रबार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ विधि गर्ने बर्तालुले भोलि कात्तिक शुक्ल पञ्चमीका दिन दिउँसोभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । त्यसपछि षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर नुहाएसँगै आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएर देखाइएपछि छठपर्व सम्पन्न हुने परम्परा छ ।