वीरगंज । ब्यास गाउँपालिका–२ तम्बाकुस्थित भारतमा विष्फोट गरिएको ढुंगा उछिट्टिएर बाटोमा हिँडिरहेका एक बालकको मृत्यु भएको छ । शुक्रबार बिहान तम्बाकुबाट घर फर्किने क्रममा बाटो हिँडिरहेको अवस्थामा सीमा पारिबाट उछिट्टिएर आएको ढुंगा लागेर ब्यास गाउँपालिका–२ का हिक्मत महराका ९ वर्षीय छोरा पवन महराको मृत्यु भएको वडाध्यक्ष धिरनसिंह बुढाथोकीले बताए । वडाध्यक्ष बुढाथोकीका अनुसार बिहान साढे ९ बजेतिर ब्यास गाउँपालिका–२ स्थित तम्बाकु नजिकको थि भन्ने ठाउँबाट दुम्लिङ्तर्फ आफ्ना बुवा र बहिनीसँगै आइरहेका पवनको सीमा पारि भारतबाट आएको ढुंगा लागेको थियो।
भारत पिथौरागढ जिल्लाको धारचुला अन्तर्गत तवाघाट–लिपुलेक सडक खण्डको लखिमपुरको चट्टानी भू–भागमा सडक निर्माण गरिरहेको गर्ग एण्ड गर्ग निर्माण कम्पनीले सीमा क्षेत्रमा कुनै पूर्व सूचना नदिई विष्फोट गराउँदा घटना भएको उनले बताए । उनका अनुसार पवनसँगै हिँडिरहेकी हिक्मतकी छोरी पारिबाट उछिट्टिएर आएको ढुंगा लागेर घाइते भएकी छन् । दुम्लिङ्देखि माथिल्लो क्षेत्रमा भारतीय पक्ष नेपालतर्फको सीमा क्षेत्रमा व्यापक नोक्सान हुने गरी सीमा पारि सडक निर्माण गरिरहेको छ ।
वडाध्यक्ष बुढाथोकीका अनुसार यसअघि भारतीय क्षेत्रमा विष्फोट गराउनु पर्दा सिठ्ठी लगाएर सूचना दिँदै पड्काउने गरेका थिए । शुक्रबार भने सिठ्ठी नबजाइकन विष्फोट गराउँदा क्षति भएको बुढाथोकीले बताए । अहिले घटनास्थलमा दुम्लिङ्बाट नेपाल प्रहरी र सशस्त्र प्रहरी गराएका छन् । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।