वीरगंज । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कम्तिमा ५ वर्ष मतदातालाई धोका दिन नपाइने बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाले बुधबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा थापाले पाँच वर्षको अवधिको साझा कार्यक्रम बनाएर गठबन्धनले जनतामाझ भोट मागेपछि कम्तीमा पाँच वर्ष जनतालाई धोका दिन नपाइने र मतको इज्जत राख्नुपर्ने बताएका हुन्।
कसैको व्यक्तिगत स्वार्थ र महत्वकांक्षा पूरा भएन भनेर कुनै नेतालाई दायाँबायाँ गर्ने छुट अब नेताहरुलाई नभएको उनको भनाइ छ। थापाले यसअघि पाँच वर्ष देशका लागि खेर भएकाले अब पाँच वर्ष खेर जान दिन नहुने जिकिर गरे। उनले गठबन्धनको संघ र सातै प्रदेशमा जीत सुनिश्चित भइसकेको भन्दै निरास भएका जनतालाई काम गरेर देखाउनुपर्ने धारणा राखे।
अब पनि जनताका लागि काम गर्न नसके जनताहरू सडकमा उत्रने उनको भनाइ छ। थापाले यसअघि पाँच वर्षको म्याण्डेड पाएका दलले संविधान विपरीतको काम गर्दा देश र संविधानलाई जोगाउनका लागि गठबन्धन बनेकाले यसलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।