वीरगंज । डेंगीको संक्रमणका कारण रूपन्देहीका पत्रकार टेक मास्की रानाको निधन भएको छ । ३० वर्षदेखि रुपन्देहीलाई कार्यक्षेत्र बनाएर पत्रकारितामा क्रियाशील रानाको बिहान निधन भएको हो ।
डेंगी संक्रमणसँगै जण्डिस, निमोनिया र मिर्गौलामा समेत समस्या देखिएपछि उनलाई असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएको थियो । मास्की रानाको बिहान उपचारकै क्रममा अस्पतालमै निधन भएको पत्रकार महासंघ रूपन्देहीका सचिव बिनोद परियारले जानकारी दिए ।
स्याङ्जाको कालिगण्डकी गाउँपालिका वडा नं ३ बारिचौर स्थायी घर भएका मास्की रानाले रूपन्देहीबाटै पत्रकारिताको सुरूआत गरेका थिए । नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व कार्यसमिति सदस्य रहेका मास्की राना लुम्बिनी प्रदेश कमिटि सदस्य तथा रेडियो जागरण बुटवलको समाचार प्रमुख रहेका थिए ।