वीरगंज । कोभिड–१९ को नयाँ सब भेरियन्ट एक्सबीबी नेपालमा पनि देखिएको छ । यो ओमिक्रोनको सब भेरियन्ट बीए २ भित्रका बीए २.१० र बीए २.७५ मिलेर बनेको बताइएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार अहिलेसम्म सो भेरियन्ट विश्वका २६ देशमा फैलिएको छ । डब्ल्यूएचओले यसलाई ‘भेरियन्ट अफ कन्सर्न’को वर्गमा राखेर अनुसन्धान गरिरहेको जनाइएको छ । यो विगतका भेरियन्ट र सब भेरियन्टभन्दा निकै धेरै संक्रामक र अहिलेसम्मकै घातक भएको बताइएको छ ।
पछिल्लो समय सिंगापुरमा तीव्र रूपमा फैलिएको र आउँदो नोभेम्बरको मध्यअघि नै यसले उच्च रूप लिन सक्ने त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अक्टोबर २३ सम्म सिंगापुरमा चार हजार २८० जनामा यो भाइरस देखिएको छ । तीमध्ये ५२८ जना अस्पताल भर्ना भएका र एकजनाको मृत्यु भएको तथ्यांक छ । भारतमा समेत पछिल्लो साता फैलिएको यो भाइरसबाट अक्टोबर २३ सम्म १३६ जना संक्रमित भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांक छ । एक्सबीबी भाइरस एसियाली मुलुकहरूमा समेत फैलँदै गएपछि जाडो महिनामा थप सतर्कता अपनाउनुपर्ने विज्ञहरूले बताएका छन् ।
खोपले काम गर्छ ?
एक्सबीबी संक्रमण भएमा ५० वर्षमाथिका, दीर्घरोगी र ‘बुस्टर डोज’ खोप नलगाएका व्यक्तिहरू अस्पताल भर्ना हुनुपर्ने सम्भावना बढी देखिएको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी)ले जनाएको छ । सीडीसीका अनुसार फाइजर र मोर्डनाका पछिल्ला खोपहरू बीए ४ र बीए ५ लाई लक्षित गरी उत्पादन गरिएको छ । एक्सबीबीबाट संक्रमित भइहाले पनि ती खोपले सिकिस्त तथा अस्पताल भर्ना हुने अवस्थाबाट जोगाउन सक्ने देखिएको छ । बुस्टर डोज नलगाएको भए लगाउन र जनस्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन विज्ञहरूले सुझाव दिएका छन् ।