वीरगंज । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा आइतबार भएको भेटका क्रममा द्विपक्षीय आपसी हितका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहमन्त्री खाणले राजदूत थम्प्सनलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरे ।
साथै नेपालको विकास र लोकतन्त्रका लागि अमेरिकाले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुका साथै आगामी दिनमा थप सहयोग निरन्तरताको अपेक्षा गरेका थिए । गृहमन्त्री खाणले मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुन लागेको जानकारी गराए ।
नेपाल सरकारले उक्त निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहितरूपमा सम्पन्न गर्न उच्च प्राथमिकता दिएको उनको भनाइ थियो । राजदूत थम्प्सनले आगामी निर्वाचनले नेपालको लोकतन्त्रलाई थप सवल बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले नेपालको विकासमा अमेरिकाको निरन्तर सहयोग रहने आश्वस्त पारेका छन् ।